बलिउडका दिग्गज अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा निधन, चलचित्र उद्योग शोकाकुल

मुम्बई । बलिउडका वरिष्ठ अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा निधन भएको छ। उनलाई सोमबार साँझ श्वासप्रश्वासमा समस्या देखिएपछि मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो। उपचारका क्रममा मंगलबार बिहान उनको निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
धर्मेन्द्रको निधनसँगै बलिउड मात्र होइन, सम्पूर्ण भारतीय चलचित्र उद्योग शोकाकुल बनेको छ। मुम्बईस्थित ब्रीच क्यान्डी अस्पतालमा सोमबार रातिदेखि नै उनका छाेराहरू अभिनेता सनी देओल, बबी देओल लगायत परिवारका सदस्य र बलिउड कलाकारहरूको भीड लागेको थियो।
निधनको खबर सार्वजनिक भएपछि शाहरुख खान, सलमान खान लगायत दर्जनौँ बलिउड स्टारहरू अस्पताल पुगेका थिए।
उनी केही समयदेखि स्वास्थ्य समस्याबाट पीडित थिए। यसअघि पनि उनलाई अस्पतालमा भर्ना गरिएको थियो। यस वर्षको सुरुमा उनले बायाँ आँखाको कोर्नियल (पारदर्शी तह) प्रत्यारोपण शल्यक्रिया गराएका थिए।
धर्मेन्द्रको जन्म सन् १९३५ डिसेम्बर ८ मा पंजाबको नस्राली गाउँमा भएको थियो। उनी डिसेम्बर ८ मा ९० वर्ष पुग्ने क्रममा थिए।
‘शोले’, ‘सीता और गीता’, ‘आनन्द’, ‘चुपके चुपके’, ‘धरम वीर’, ‘कटी पतंग’ लगायतका फिल्ममा अभिनय गरेर उनले बलिउडमा अमिट छाप छोडेका थिए। पछिल्लो पटक धर्मेन्द्र सन् २०२३ मा रिलिज भएको ‘रकी और रानी की प्रेम कहानी’ फिल्ममा देखिएका थिए।
धर्मेन्द्रको निधनले भारतीय चलचित्र उद्योगले एउटा युग गुमाएको अनुभूति गरेको छ।