न्यूयोर्कका पहिलो मुस्लिम मेयर बने जोहरन ममदानी, अमेरिकाभर डेमोक्रेटिक पार्टीको विजयी लहर

ई-झापा संवाददाता
5 November, 2025 9:43 pm
काठमाडौं । अमेरिकामा मंगलबार सम्पन्न स्थानीय निर्वाचनमा विपक्षी डेमोक्रेटिक पार्टीले न्यूयोर्क, न्यूजर्सी र भर्जिनिया गरी तीन राज्यमा ठूला जीत हासिल गरेको छ। विशेषगरी न्यूयोर्क सहरमा ३४ वर्षीय जोहरन ममदानी मेयर बनेपछि अमेरिकी राजनीति नयाँ मोडमा पुगेको विश्लेषण गरिएको छ।
विश्वको आर्थिक राजधानी मानिने न्यूयोर्क सहरका पहिलो मुस्लिम र दक्षिण एसियाली मूलका मेयर बनेका ममदानी चर्चित भारतीय–अमेरिकी फिल्म निर्देशक मीरा नायर र विद्वान महमुद ममदानीका छोरा हुन्।
त्यस्तै, न्यूजर्सीमा मिकी शेरिल र भर्जिनियामा एबिगेल स्पेनबर्गर गभर्नर निर्वाचित भएका छन्। यी तीनै राज्यमा डेमोक्रेटिक उम्मेदवारहरूले अपेक्षाभन्दा फराकिलो मतान्तरले जित हासिल गरेका छन्।

ममदानीले स्वतन्त्र उम्मेदवारका रूपमा लडेका पूर्वगभर्नर एन्ड्रयू कोमोलाई झन्डै १० प्रतिशत मतान्तरले हराएका हुन्। चुनावअघि पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले ममदानीविरुद्ध प्रचार गर्दै उनलाई ‘वामपन्थी’ भन्दै आलोचना गरेका थिए।
तर ममदानीले जनजीविकामुखी एजेन्डा निःशुल्क बस सेवा, बाल हेरचाह केन्द्र, बढ्दो महँगी नियन्त्रण र घर भाडामा नियन्त्रण जस्ता मुद्दा उठाएर जनसमर्थन तानेका थिए।

जितपछि पहिलो भाषणमा ममदानीले ट्रम्पलाई व्यंग्य गर्दै भने “म थाहा पाउँछु, डोनाल्ड ट्रम्प अहिले यो भाषण हेर्दै हुनुहुन्छ। उहाँलाई म तीन शब्द भन्न चाहन्छु कृपया आवाज बढाउनुस्।”ममदानीको यो विजयले डेमोक्रेटिक पार्टीभित्र समाजवादी विचारधाराको प्रभाव बढाएको विश्लेषकहरू बताउँछन्। यद्यपि, कतिपयले यो जितलाई जनजीविकाको मुद्दामा केन्द्रित सफल अभियानको परिणाम भनेका छन्।

राजनीतिक विश्लेषकहरूका अनुसार भर्जिनिया, न्यूजर्सी र न्यूयोर्कमा आएको यो विजयले आगामी प्रतिनिधिसभा र राष्ट्रपतीय निर्वाचनमा पनि डेमोक्रेटिक पार्टीलाई बलियो आधार दिनेछ।
साथै, न्यूयोर्कमा धनी वर्गमाथि कर वृद्धि, सस्तो आवास र आम जनतालाई राहत दिने कार्यक्रम लागू गर्ने ममदानीको प्रतिबद्धताले उनलाई “जनताको मेयर”का रूपमा स्थापित गरेको छ।