सिरियामा अमेरिकी सेनाको भीषण आक्रमण : आईएसका ७० भन्दा बढी ठेगाना ध्वस्त..

वासिङ्टन डिसी । अमेरिकी सेनाले सिरियामा सक्रिय इस्लामिक स्टेट (आईएस) समूह विरुद्ध अहिलेसम्मकै ठूलो र ‘शक्तिशाली’ हवाई आक्रमण सुरु गरेको छ।
आफ्ना सैनिकहरूमाथि भएको ज्यान लिने गरीको हमलाको बदला लिन अमेरिकाले ‘अपरेसन हकाइ स्ट्राइक’ मार्फत मध्य सिरियाका ७० भन्दा बढी स्थानमा भीषण बमबारी गरेको हो। अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकौम) का अनुसार यस कारबाहीमा लडाकु विमान, अट्याक हेलिकप्टर र आर्टिलरीको प्रयोग गरिएको छ भने जोर्डनका विमानहरूले पनि साथ दिएका छन्।
गत डिसेम्बर १३ मा पाल्मिरा सहरमा आइएसको एम्बुस परेर दुई अमेरिकी सैनिक र एक नागरिक अनुवादकको मृत्यु भएपछि अमेरिकाले यो कठोर कदम चालेको हो। राष्ट्रपति डोनाल्ड ट्रम्पले आइएसका गढहरूमा आफूहरूले निकै शक्तिशाली प्रहार गरिरहेको र दोषीहरूलाई नछाड्ने चेतावनी दिएका छन्। यो अपरेसन शुक्रबार साँझबाट सुरु भएको हो जसमा सयभन्दा बढी अचुक निशाना लगाउने हतियारहरू प्रयोग गरिएको अमेरिकी अधिकारीहरूले जनाएका छन्।
अमेरिकी रक्षामन्त्री पिट हेगसेथले यस कारबाहीलाई युद्धको सुरुवात नभई ‘प्रतिशोधको घोषणा’ भनेका छन्। उनले संसारको जुनसुकै कुनामा भए पनि अमेरिकी नागरिकलाई लक्षित गर्ने जो कोहीलाई अमेरिकाले खोजेर र लखेटेर सिद्ध्याउने चेतावनी दिएका छन्।
सिरियाली सरकारको समेत समर्थन रहेको दाबी गरिएको यस आक्रमणमा आईएसका महत्त्वपूर्ण पूर्वाधार र हतियार भण्डारहरूलाई निशाना बनाइएको छ। बेलायतस्थित ‘सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्स’ का अनुसार रक्का र देर एज जोर नजिकका क्षेत्रमा भएका यी आक्रमणमा आईएसका एक प्रमुख नेतासहित धेरै लडाकुहरू मारिएका छन्।