नेपाल ईटा उद्योग महासंघको १८औँ साधारणसभा झापामा सम्पन्न, उद्योगलाई प्रविधिमैत्री बनाउन जोड

प्रकाश बानियाँ
25 September, 2026 11:30 am

मेचीनगर । नेपाल ईटा उद्योग महासंघको १८औँ वार्षिक साधारणसभा झापामा सम्पन्न भएको छ। साधारणसभामा सहभागी वक्ताहरूले मुलुकको निर्माण क्षेत्रसँग प्रत्यक्ष जोडिएको ईटा उद्योगलाई व्यवस्थित र प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिएका छन्।
कार्यक्रममा प्रमुख अतिथि कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विदुर लिङथेप रहेका थिए। कार्यक्रममा महासंघका अध्यक्ष कृष्णप्रसाद अवालको अध्यक्षता रहेको थियो भने महासचिव केदार गोसाईंले कार्यक्रम सञ्चालन गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले समृद्ध नेपाल र सुखी नेपालीको यात्रामा ईटा व्यवसायीको योगदान महत्वपूर्ण रहेको बताए।
उनले भने, “तपाईंहरू राष्ट्र निर्माणको एउटा मेरुदण्ड हो। ईटा व्यवसायी भएकोमा आत्मग्लानी भएको महसुस गर्नुभएको जस्तो लाग्यो भने त्यसो नगर्नुस्, आफ्नो पेशाप्रति गौरव गर्नुस्।”
महासंघका अध्यक्ष कृष्णप्रसाद अवालले ईटा उद्योगले विभिन्न चुनौतीका बाबजुद मुलुकलाई निर्माण सामग्रीमा आत्मनिर्भर बनाउन महत्वपूर्ण भूमिका खेलेको बताए। उनले उद्योगमा दक्ष जनशक्तिको अभाव रहेको र अदक्ष कामदारलाई काममा लगाउनुपर्ने बाध्यता रहेको उल्लेख गरे।

त्यस्तै, माटो ढुवानीका क्रममा व्यवसायीले प्रशासनिक झन्झट व्यहोर्नुपरेको भन्दै उनले सम्बन्धित निकायले उद्योगमैत्री वातावरण निर्माण गर्नुपर्ने माग गरे।
अध्यक्ष अवालले ईटामा मुलुक आत्मनिर्भर रहेको उल्लेख गर्दै स्वदेशी उद्योगको संरक्षण र प्रवर्द्धनका लागि राज्यले स्पष्ट नीति ल्याउनुपर्नेमा जोड दिए।
साधारणसभाका अवसरमा लामो समयदेखि ईटा उद्योग क्षेत्रमा योगदान पुर्‍याउँदै आएका पुराना व्यवसायी लोकनाथ खनाल र प्रकाश बुढाथोकीलाई सम्मान गरिएको थियो।