चारआलीमा नेपथ्यको लाइभ कन्सर्ट हुँदै, ४ हजार ७ सय टिकट बिक्री

चारआली । झापाको चारआलीमा लोकप्रिय नेपाली सांगीतिक ब्याण्ड नेपथ्यको लाइभ कन्सर्ट हुने भएको छ। आगामी कात्तिक २१ गते चारआलीस्थित हातेमालो सामुदायिक वनको खेल मैदानमा कन्सर्ट आयोजना गर्न लागिएको हो।
चारआली जेसीस र बज्र इभेन्टको संयुक्त आयोजनामा हुन लागेको कन्सर्टका लागि हालसम्म ४ हजार ७ सय टिकट बिक्री भइसकेको आयोजकले जनाएको छ। आयोजकले १० हजारभन्दा बढी दर्शक सहभागी हुने अपेक्षा गरेको छ।
बज्र इभेन्टका सञ्चालक फुर्वा लामाका अनुसार भारतबाट समेत ५ देखि ७ सय दर्शक आउने अनुमान गरिएको छ। कन्सर्टको अनुमानित लागत करिब एक करोड रुपैयाँ रहेको उनले जानकारी दिए।
चारआलीलाई सांगीतिक गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको आयोजकको भनाइ छ। चारआली जेसीसका अध्यक्ष सञ्जय निरौलाले नेपथ्यजस्तो स्थापित ब्याण्डको प्रस्तुति चारआलीमा हुनु यस क्षेत्रकै गौरवको विषय भएको बताए। कार्यक्रमलाई भव्य र व्यवस्थित बनाउन विभिन्न तयारी भइरहेको उनले जानकारी दिए।
यसैक्रममा धरानदेखि श्रीअन्तुसम्म १५५ वटा बुलेट मोटरसाइकल सहभागी र्यालीसमेत सम्पन्न गरिएको आयोजकले जनाएको छ।
चारआली जेसीसका पूर्वअध्यक्ष उत्तम प्याकुरेलले कन्सर्टले चारआलीको सांगीतिक पहिचान स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।
कन्सर्टले झापासहित आसपासका जिल्लाका संगीतप्रेमीलाई आकर्षित गर्नुका साथै स्थानीय पर्यटन, व्यापार व्यवसाय र सांस्कृतिक गतिविधिमा समेत सकारात्मक योगदान पुर्याउने अपेक्षा गरिएको छ।
