भद्रपुरमा पहिलो अन्तर्राष्ट्रिय ५ एस हक्की प्रतियोगिता हुँदै, विजेताले २ लाख पाउने

प्रकाश बानियाँ
29 October, 2026 6:27 pm

झापा । नेपालमा ओझेलमा परेको हक्की खेलको प्रवर्द्धन तथा विकास गर्ने उद्देश्यले झापाको सदरमुकाम भद्रपुरमा पहिलो पटक अन्तर्राष्ट्रियस्तरको ५एस हक्की प्रतियोगिता आयोजना हुने भएको छ।

भद्रपुर नगर हक्की संघको आयोजनामा यही कात्तिक १३ गते शुक्रबारदेखि १५ गते आइतबारसम्म भद्रपुर–९ स्थित पुहाँतु जनज्योति माध्यमिक विद्यालयको खेल मैदानमा ‘प्रथम अन्तर्राष्ट्रिय ५एस हक्की प्रतियोगिता–२०८३’ सञ्चालन हुन लागेको हो।

आयोजकले बिहीबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ। प्रतियोगितामा भारतका तीन, विभागीय तीन, कोशी, गण्डकी र कर्णाली प्रदेशका एक–एक तथा आयोजकको एक गरी कुल १० टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।

छिमेकी राष्ट्र बंगलादेशको टोलीलाई समेत सहभागी गराउने प्रयास गरिए पनि प्राविधिक कारणले सम्भव हुन नसकेको आयोजकले जनाएको छ।

प्रतियोगितालाई व्यवस्थित र भव्य रूपमा सम्पन्न गर्न खेलमैदानको मर्मतसम्भार, स्वागतद्वार, ब्यानर तथा दर्शकका लागि बाँसको प्यारापिट निर्माणलगायतका प्राविधिक र भौतिक तयारी पूरा भइसकेको आयोजकको भनाइ छ।

चन्द्रगढी सामुदायिक वन उपभोक्ता समूह मुख्य प्रायोजक रहेको प्रतियोगिताको विजेता टोलीले नगद दुई लाख रुपैयाँसहित शिल्ड तथा मेडल प्राप्त गर्नेछ। यस्तै, उपविजेता टोलीले एक लाख रुपैयाँसहित शिल्ड र मेडल पाउनेछ। उत्कृष्ट खेलाडी तथा अन्य व्यक्तिगत विधामा समेत नगद पुरस्कार र ट्रफीको व्यवस्था गरिएको छ।

प्रतियोगिताको प्रथम पुरस्कार भद्रपुर–८ स्थित ओम साई पाथिभरा हस्पिटलका अध्यक्ष दीपक पोखरेलले सौजन्य गरेका छन्। दोस्रो पुरस्कार झापा उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष राजकुमार राईले तथा तेस्रो पुरस्कारबापतको ५० हजार रुपैयाँ खेलप्रेमी सागर मिश्रले सौजन्य गरेका हुन्।

करिब ३५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको प्रतियोगितालाई खेलकुदसँगै आन्तरिक पर्यटन र सांगीतिक मनोरञ्जनसँग जोड्ने तयारी गरिएको छ। प्रतियोगिताको उद्घाटन समारोहमा गायक डम्बर नेपालीले प्रस्तुति दिनेछन् भने दोस्रो दिन अशोक दर्जी र समापनका दिन श्रीकृष्ण लुइँटेल ‘बोके दाह्री’ लगायतका कलाकारले सांगीतिक प्रस्तुति दिने कार्यक्रम रहेको छ। साथै, स्थानीय कलाकार तथा विद्यालयका विद्यार्थीहरूको प्रस्तुति र विभिन्न जातीय झाँकीसमेत प्रदर्शन गरिने आयोजकले जनाएको छ।

युवा पुस्तालाई लागुऔषध दुर्व्यसनबाट टाढा राख्दै खेलकुदप्रति आकर्षित गर्ने लक्ष्यका साथ आयोजना गर्न लागिएको प्रतियोगिताले नेपालमा हक्की खेलको विकास, विस्तार र प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्‍याउने आयोजकको विश्वास छ।

राष्ट्रियस्तरमा अपेक्षाकृत कम प्राथमिकतामा परेको हक्की खेललाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धामार्फत नयाँ पहिचान दिलाउनुका साथै भद्रपुरको खेलकुद तथा पर्यटन क्षेत्रको प्रवर्द्धनमा समेत प्रतियोगिताले टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।