दसैँको अवसरमा बुद्धशान्तिमा दोस्रो मिडिया कप आयोजना हुँदै

बुद्धशान्ति । दसैँको अवसर पारेर पत्रकार तथा सञ्चारकर्मीबीच आपसी सद्भाव, एकता र सहकार्य अभिवृद्धि गर्ने उद्देश्यले आयोजना हुन लागेको दोस्रो बुद्धशान्ति–१ झापा मिडिया कप–२०८३ को तयारी तीव्र पारिएको छ।
बुद्धशान्ति प्रेस क्लब झापाले शनिबार बुद्ध आदर्श माध्यमिक विद्यालयको खेल मैदानमा पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिताको तयारीबारे जानकारी गराएको हो। प्रतियोगिता आगामी असोज २४ र २५ गते बुद्धशान्ति–१, बुधबारेस्थित बुद्ध आदर्श माध्यमिक विद्यालयको खेल मैदानमा सञ्चालन हुने खेल संयोजक नारायण अर्यालले जानकारी दिनुभयो।
प्रेस क्लबका अध्यक्ष तीर्थ तिम्सिनाका अनुसार प्रतियोगितामा झापाका विभिन्न पालिकास्तरमा रहेका प्रेस क्लबका टोलीहरूको सहभागिता रहनेछ। अघिल्लो संस्करणको तुलनामा यस वर्ष पुरस्कार राशिसमेत वृद्धि गर्ने तयारी गरिएको उहाँले बताउनुभयो।
पहिलो संस्करणमा विजेता टोलीले २५ हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको थियो भने उपविजेता टोलीले १५ हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको थियो। यस वर्ष पनि बुद्धशान्ति गाउँपालिका–१ प्रतियोगिताको मुख्य प्रायोजक रहने भएको छ।
पत्रकार सम्मेलनमा बुद्धशान्ति गाउँपालिका–१ का वडाध्यक्ष अनिल वाग्ले, नेपाल पत्रकार महासंघ ताप्लेजुङ शाखाका पूर्वअध्यक्ष आनन्द गौतम तथा वरिष्ठ पत्रकार गणेशमान मुखियालगायतले प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो।
प्रेस क्लबका अध्यक्ष तीर्थ तिम्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष तथा खेल संयोजक नारायण अर्यालले प्रतियोगिताको तयारी र खेलसम्बन्धी विषयमा जानकारी दिनुभएको थियो। कार्यक्रमको सञ्चालन क्लबका सचिव रोशन भट्टराईले गर्नुभएको थियो।
आयोजकका अनुसार प्रतियोगिता सम्पन्न गर्न करिब ३ लाख २० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। प्रतियोगिताले दसैँको अवसरमा जिल्लाका पत्रकार तथा सञ्चारकर्मीबीच खेलकुदमार्फत आपसी सम्बन्ध, सहकार्य र एकताको वातावरण निर्माण गर्ने अपेक्षा गरिएको छ।
