नेपाल जेसीजको कार्यकारिणी उपाध्यक्षमा देबु बानियाँको उम्मेदवारी

झापा । बाहुण्डागी जेसीजका २०२४ का अध्यक्ष तथा नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष देबु बानियाँले सन् २०२७ का लागि नेपाल जेसीजको कार्यकारिणी उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ।
चारआली जेसीजको आतिथ्यतामा सम्पन्न क्षेत्र ‘क’ सम्मेलनका क्रममा बानियाँले कार्यकारिणी उपाध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको हो।
सन् २०१३ देखि बाहुण्डागी जेसीजमा आबद्ध बानियाँले विभिन्न जिम्मेवारी निर्वाह गर्दै सन् २०२४ मा शाखा अध्यक्षको भूमिका सम्हाल्नुभएको थियो। उहाँको नेतृत्वमा बाहुण्डागी जेसीजले सन् २०२४ मा उत्कृष्ट शाखाको सम्मान प्राप्त गर्न सफल भएको थियो भने बानियाँ स्वयं वर्ष उत्कृष्ट शाखा अध्यक्षका रूपमा सम्मानित हुनुभएको थियो।
जेसीज अभियानमा लामो समयदेखि सक्रिय बानियाँलाई मेहनती, लगनशील तथा देशभर परिचित जेसीज अभियन्ताका रूपमा चिनिन्छ। नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्षको जिम्मेवारीसमेत निर्वाह गरिसक्नुभएका उहाँले बाहुण्डागी जेसीजको गतिविधि र पहिचानलाई राष्ट्रियस्तरमा पुर्याउन महत्वपूर्ण भूमिका खेल्नुभएको बताइन्छ।
जेसीज अभियानलाई नजिकबाट बुझेका बानियाँले नेतृत्व, संगठन विस्तार तथा सदस्यहरूको क्षमता विकासलाई प्राथमिकतामा राख्दै विभिन्न जिम्मेवारी निर्वाह गर्दै आउनुभएको छ। कार्यकारिणी उपाध्यक्ष पदको उम्मेदवारीसँगै उहाँले जेसीज अभियानमा आफ्नो अनुभव र सक्रियतालाई थप प्रभावकारी रूपमा अघि बढाउने अपेक्षा गरिएको छ।
