अर्जुनधारामा राष्ट्रिय महिला खुला भलिबल प्रतियोगिता मंसिर १७ देखि

अर्जुनधारा। झापाको अर्जुनधारामा मंसिर १७ देखि २१ गतेसम्म राष्ट्रिय स्तरको महिला खुला भलिबल प्रतियोगिता हुने भएको छ। अर्जुनधारा नगर खेलकुद विकास समितिको आयोजनामा तथा लक्ष्मी माध्यमिक विद्यालयको सह–आयोजनामा अर्जुनधारा–६ स्थित लक्ष्मी माध्यमिक विद्यालयको प्राङ्गणमा सञ्चालन हुने प्रतियोगिताबारे आज विद्यालयको खेलमैदानमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको हो।
आयोजक समितिका अध्यक्ष सुरेन्द्र धिमालका अनुसार नेपाल भलिबल संघले तोकेको तालिका र नियमअनुसार सञ्चालन हुने प्रतियोगितामा नेपाल एपीएफ, नेपाल पुलिस, त्रिभुवन आर्मी, न्यु डायमन्ड, एभरेस्ट लुम्बिनी र कोशी प्रदेश गरी ६ टिमले सहभागीता जनाएको छ। राष्ट्रियस्तरका महिला खेलाडीसमेत समावेश हुने प्रतियोगिता लिग र नकआउट दुवै चरणमा सञ्चालन हुनेछ। प्रत्येक टोलीमा १२ खेलाडी र ३ अफिसियलसहित १५ जनाको व्यवस्था गरिएको छ।

प्रतियोगितामा विजयी हुने टोलीले उपाधिसहित नगद २ लाख रुपैयाँ, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने दोस्रो हुने टोलीलाई १ लाख रुपैयाँ पुरस्कार प्रदान गरिने छ। सेमिफाइनल पुग्ने दुई टोलीलाई जनही ३०–३० हजार रुपैयाँ प्रदान गरिने जानकारी प्रतियोगिता आयोजक समितिका सल्लाहाकार वीरबहादुर राईले दिए। त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी (MVP) ले १५ हजार रुपैयाँ, प्रत्येक दिनको ‘प्लेयर अफ द म्याच’ ले ५ हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन्।
बिधागत विधातर्फ बेस्ट स्पाइकर, बेस्ट ब्लकर, बेस्ट सर्भर, बेस्ट सेटर तथा बेस्ट लिबेरोले जनही १० हजार रुपैयाँसहित ट्रफी पाउनेछ। साथै, आठ खेलका उत्कृष्ट खेलाडीलाई ‘ह्युमन अफ द म्याच’ शीर्षकमा जम्मा ४० हजार रुपैयाँ र उत्कृष्ट प्रशिक्षकलाई १० हजार रुपैयाँ प्रदान गरिने सल्लाहाकार राईले जानकारी दिए।

प्रतियोगिता सञ्चालनका लागि २७ लाख ६५ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। उक्त रकम आयोजक, सह–आयोजक तथा विभिन्न प्रायोजक संस्थाहरूको सहयोगबाट व्यवस्थापन गरिने संयोजक प्रभा लिम्बुले बताइन्।
पत्रकार सम्मेलनमा अर्जुनधारा नगरप्रमुख बलदेवसिंह गोम्देन, वडा नं. ६ का अध्यक्ष हरिस बास्तोला, नेपाल भलिबल संघका केन्द्रीय उपाध्यक्ष मदन खड्का, संघका झापा जिल्लाका महासचिव खडानन्द खतिवडा, झापा गोल्डकपका अध्यक्ष केदार गिरी, विद्यालयका प्रधानाध्यापक निर्मला पोखरेल, प्रतियोगिताका आर्थिक संयोजक नन्दहाङ नेम्वाङलगायत उपस्थित थिए।
नगरप्रमुख गोम्देनले प्रतियोगितालाई नगर गौरवको रूपमा लिएको बताए । झापा खेलकुदको क्षेत्रमा अर्जुनधारा उत्कृष्ट नगरपालिकाको भएको भन्दै प्रतियोगिता भव्य रुपमा सम्पन्न गर्न भरपुर सहयोग गर्ने प्रतिबद्धता जनाए ।