बुद्धशान्तिमा दोस्रो संस्करणको वडा स्तरीय नकआउट क्रिकेट प्रतियोगिता हुने

-प्रकाश बानियाँ
बुद्धशान्ति , कार्तिक २७। झापा बुद्धशान्ति गाउँपालिकामा दोस्रो संस्करणको वडा स्तरीय नकआउट क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ। प्रतियोगिताको औपचारिक घोषणा बिहीबार बुद्धशान्ति गाउँपालिकामा आयोजित पत्रकार सम्मेलन (प्रेस मिट) मार्फत गरिएको हो।
गाउँपालिकाको आयोजना र खेलकुद विकास समितिको संयोजनमा मंसिर ४ गतेदेखि सुरु हुने प्रतियोगिता मंसिर ६ गतेसम्म चल्नेछ। प्रतियोगिता टी–१० (T10) ढाँचामा हुनेछ, जसमा गाउँपालिकाभित्रका सबै वडाका टोलीहरूबीच प्रतिस्पर्धा हुनेछ।
आजै लक्की ड्र मार्फत खेल तालिका पनि सार्बजनिक गरिएको छ । खेल तालिका अनुसार उद्घाटन खेलमा वडा नम्बर ३ र ५ भिडने छन । त्यसै गरि दोस्रो खेल वडा नम्बर २ र ६, तेस्रो खेल वडा नम्बर ४ र ७ भिडने छन भने डिफेन्डिङ च्याम्पियन वडा नम्बर १ भाग्यमानी साबित हुँदै सोझै सेमिफाइनलमा प्रबेश गरेको छ ।

पत्रकार सम्मेलनमा बोल्दै आयोजक समिति वडा नम्बर ३ खेलकुद समितिका अध्यक्ष बिनोद नेङ्बाङले प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएका थिए। प्रतियोगिता अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (ICC) का नियमअनुसार सञ्चालन गरिने जनाइएको छ। खेलमा सबै नियम र प्राविधिक पक्षको निगरानीका लागि विशेष संयोजक समिति समेत गठन गरिएको छ।
प्रतियोगिताको विजेता टोलीले नगद रु २५,०००, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले रु १५,०००, मेडल र प्रमाणपत्र पाउनेछन्। साथै उत्कृष्ट ब्याट्सम्यान, बलर, फिल्डर, क्याच, तथा म्यान अफ द सिरिजलाई पनि आकर्षक नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने समिती अध्यक्ष नेङ्बाङले जनाए ।

बुद्धशान्ति खेलकुद समिति अध्यक्ष तथा वडाध्यक्ष पर्शुराम चेमजुङ्का अनुसार प्रतियोगिताको उद्देश्य गाउँपालिकाभित्र रहेका युवा प्रतिभालाई पहिचान र प्रोत्साहन गर्नुका साथै खेलकुदप्रतिको आकर्षण बढाउने रहेको छ। उनका अनुसार खेलकुदमार्फत भाईचारा, सद्भाव र स्वस्थ समाज निर्माणमा योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन्।
गाउँपालिका सभाहलमा आयोजित पत्रकार सम्मेलनमा आयोजक समिती सचिव गोबिन्द लेप्चाले शाब्दिक स्वागत ब्यक्त गरेका थिए । अध्यक्ष नेङ्बाङले औचित्यमाथी प्रकाश पारेको कार्यक्रमको सहजीकरण गोकुल पौडेलले गरेका थिए । पत्रकार सम्मेलनमा बुद्धशान्ति खेलकुद समिती सदस्य कमल निरौला, अमिर श्रेष्ठ , मेदनी घिमिरे र सातै वटा वडाका खेल संयोजकहरु, खेलप्रेमी तथा सञ्चारकर्मीहरूको उपस्थितिमा प्रतियोगितासम्बन्धी सम्पूर्ण जानकारी सार्वजनिक गरिएको थियो।
मंसिर ४ गतेदेखि सुरु हुने यस प्रतियोगिताका सम्पूर्ण खेलहरू बुधबारे पेट्रोल पम्प पश्चिमको खेलमैदानमा बिहान ९:३० बजेबाट सुरु हुने आयोजकले जनाएको छ।
