पत्रकार महासंघ झापाले फरार अभियुक्तलाई तत्काल पक्राउ गर्न माग

बिर्तामोड, साउन १९ । नेपाल पत्रकार महासंघ झापा शाखाले विभिन्न आपराधिक घटनामा संलग्न भई हाल फरार रहेका हल्दीबारी गाउँपालिका–१ निवासी नितेश ओलीलाई तत्काल पक्राउ गरी कानुनी दायरामा ल्याउन सरकार र प्रहरी प्रशासनसँग माग गरेको छ।
महासंघका सचिव प्रदीप परियारद्वारा जारी प्रेस विज्ञप्तिमा ओलीले महासंघ झापा शाखा तथा त्यसका अध्यक्ष र पदाधिकारीहरूलाई लक्षित गर्दै फेसबुक र म्यासेन्जरमार्फत चरित्रहत्या गर्ने उद्देश्यले भ्रामक सामग्री प्रसारण गर्नुका साथै ज्यान मार्ने धम्की दिएको उल्लेख गरिएको छ। महासंघले यस्ता गतिविधिलाई प्रेस स्वतन्त्रता र पत्रकारिता पेसामाथिको गम्भीर प्रहारको रूपमा लिएको जनाएको छ।
विज्ञप्तिअनुसार पत्रकार नभए पनि सञ्चारमाध्यमको नाम प्रयोग गर्दै उद्योगी–व्यवसायीहरूसँग रकम माग्ने तथा विभिन्न विषयमा हैरानी दिने आरोपमा ओलीविरुद्ध यसअघि नै महासंघ र जिल्ला प्रहरी कार्यालय झापामा उजुरी परेको थियो। महासंघले विज्ञप्तिमार्फत चेतावनी दिए पनि उनले महासंघ र पदाधिकारीहरूविरुद्ध निरन्तर आधारहीन, भ्रामक तथा कपोलकल्पित आरोप सार्वजनिक गर्दै आएको जनाएको छ।

महासंघका अनुसार साइबर अपराध सम्बन्धी कसुरमा जिल्ला प्रहरी कार्यालय झापामा जाहेरी दर्ता भएपछि जिल्ला अदालतबाट पक्राउ पुर्जीसमेत जारी भइसकेको छ। तर, एक महिनाभन्दा बढी समय बितिसक्दा पनि उनी पक्राउ नपर्नु प्रहरी प्रशासनको कार्यक्षमतामाथि नै प्रश्न उठाउने विषय भएको महासंघको ठहर छ।
महासंघले फरार व्यक्तिले सामाजिक सञ्जालमार्फत निरन्तर गालीगलौज, चरित्रहत्या, अफवाह फैलाउने तथा धम्कीपूर्ण गतिविधि जारी राखेकाले पत्रकारहरूमा सुरक्षा चुनौती थपिएको जनाएको छ। साथै, सामाजिक सञ्जालमा निरन्तर सक्रिय रहे पनि पक्राउ प्रक्रियामा ढिलाइ हुनु आश्चर्यजनक भएको उल्लेख गरेको छ।
नेपाल पत्रकार महासंघ झापा शाखाले फरार अभियुक्त ओलीलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न, सामाजिक सञ्जालमार्फत भइरहेका भ्रामक तथा अवाञ्छित गतिविधि रोक्न र दण्डहीनताको अन्त्य गर्न सम्बन्धित निकायसँग जोडदार माग गरेको छ। महासंघले आवश्यक परे थप संघर्षका कार्यक्रम अघि बढाउन बाध्य हुने चेतावनीसमेत दिएको छ।

