लायन्स जोन–३ को पहिलो प्लानिङ बैठक सम्पन्न, सेवा र नेतृत्व विकासका योजनामाथि व्यापक छलफल

बिर्तामोड, । लायन्स क्लब्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ C अन्तर्गत रिजन–२, एरिया–१ को जोन–३ को वर्ष २०२६/२७ को प्रथम जोन प्लानिङ बैठक शुक्रबार बिर्तामोडस्थित होटल सिपीमा सम्पन्न भएको छ।
जोन चेयरपर्सन लायन भुवन खतिवडाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको उद्घोषण तथा सञ्चालन होस्ट क्लब लायन्स क्लब अफ कन्काई दुर्गापुरका प्रथम उपाध्यक्ष लायन ईश्वर सुवेदीले गर्नुभएको थियो।
कार्यक्रममा एडिसनल क्याबिनेट सेक्रेटरी लायन रोशन बुढाथोकी प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो। त्यसैगरी GET डिस्ट्रिक्ट कोर्डिनेटर लायन मनोज बस्नेत, GMT डिस्ट्रिक्ट कोर्डिनेटर लायन डम्बर थापा (साजन), डिस्ट्रिक्ट चिफ AOG लायन सत्यनारायण शर्मा, डिस्ट्रिक्ट चिफ मार्केटिङ कोर्डिनेटर लायन शैलेन्द्र कुरुङ्मावाङ, PRO लायन रूपनारायण खतिवडा, न्यु भ्वाइस क्लब एक्सटेन्सन कोर्डिनेटर लायन पार्वता गिरी, डिस्ट्रिक्ट चिफ सिनियर एड्भाइजर लायन राजेश दाहाल, रिजन–२ की रिजन चेयरपर्सन लायन शर्मिला जोशी लगायत विभिन्न लायन्स क्लबका पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
त्यस्तै, बैठकमा लियो क्लब अफ अनारमनी, लियो क्लब अफ कन्काई दुर्गापुर लगायत जोन अन्तर्गतका विभिन्न लियो क्लबहरूको समेत सक्रिय प्रतिनिधित्व रहेको थियो। सहभागीहरूले लायन्स र लियोबीचको सहकार्यलाई थप सुदृढ बनाउँदै सेवामूलक अभियानलाई प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए।

बैठकमा वर्ष २०२६/२७ का लागि जोन अन्तर्गत सञ्चालन गरिने सेवा, नेतृत्व विकास, सदस्यता विस्तार, क्लबहरूबीच समन्वय तथा आगामी कार्ययोजनाका विषयमा विस्तृत छलफल गरिएको थियो।
यसै क्रममा लायन्स क्लब अफ कन्काई सुरुङ्गाले प्रस्ताव गरेको ‘मानव सेवा आश्रम भवन निर्माण परियोजना’ सर्वसम्मत रूपमा पारित गरिएको छ। उक्त प्रस्तावलाई आगामी डिस्ट्रिक्ट क्याबिनेट बैठकमा पेश गरिने जानकारी जोन चेयरपर्सन लायन भुवन खतिवडाले दिनुभएको थियो। सहभागीहरूले यस निर्णयलाई सामाजिक सेवाप्रतिको सामूहिक प्रतिबद्धताको महत्वपूर्ण कदमका रूपमा लिएका छन्।

बैठकले जोन अन्तर्गत रहेका लायन्स तथा लियो क्लबहरूबीच आपसी सहकार्य, समन्वय र सेवामूलक गतिविधिलाई अझ प्रभावकारी बनाउँदै समाजप्रति उत्तरदायी कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेको छ।
