मादक पदार्थ सेवनपछि विवाद : दमकमा एनएमसी डेरीका इन्जिनियरको ज्यान गयो

प्रकाश बानियाँ
11 July, 2026 11:12 am

दमक , २७ असार । झापाको दमकस्थित नेपाल बहुउद्देश्यीय सहकारी संस्थाले सञ्चालन गर्दै आएको एनएमसी डेरीमा कार्यरत कर्मचारीको हत्या भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार धारिलो हतियार छुरा प्रहारबाट भारतको उत्तर प्रदेश राज्य लखनउ निवासी अन्दाजी ३५ वर्षीय साहिल कान्त रहेका छन् ।

मृतक कान्त दमकस्थित एनएमसी डेरीमा सफ्टवेयर इन्जिनियरका रूपमा कार्यरत थिए । प्रहरी स्रोतका अनुसार दमक नगरपालिका–२ हिमाली माध्यमिक विद्यालय छेउमा डेरा गरी बस्ने साहिल कान्त र लखनउकै मोहम्मद सोनु भन्ने सहवाज हुसेनबीच विवाद भएको थियो ।

विवादको क्रममा हुसेनले कान्तको घाँटीमा छुरा प्रहार गरेका थिए । घाइते कान्तलाई उपचारको लागि दमक अस्पताल पठाएको थियो । उनको उपचारको क्रममा बिहान साढे ६ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

चक्कु प्रहार गर्ने हुसेनको खोजतलास भइरहेको छ । हुसेन पनि डेरीमा सफ्टवेयर इन्जिनियरका रूपमा कार्यरत थिए । बिहान ५ बजेतिर ठुलो कोठाबाट आवाज आएपछि हेर्न जाँदा घरधनीले कान्तलाई रगताम्य अवस्थामा देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए ।

इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी टोली घटनास्थल आएर कान्तलाई उपचारको लागि पठाएको थियो । उनीहरू मादक पदार्थ सेवन गरी विवाद गरेको जनाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।