भान्सामा खाना पकाइरहेकी महिलालाई गोमनले डस्यो, उपचारकै क्रममा मृत्यु

प्रकाश बानियाँ
7 July, 2026 10:03 am

दमक, २४ असार । झापाको कमल गाउँपालिका–३ मा गोमन सर्पले डसेपछि एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ।


मृत्यु हुनेमा कमल–३ निवासी ज्ञानबहादुर लिम्बुकी श्रीमती अन्दाजी ४० वर्षीया सरस्वती मगर रहेकी छन्।
प्रहरीका अनुसार सोमबार साँझ करिब ७ः५० बजे आफ्नै घरको भान्सा कोठामा खाना पकाइरहेकी बेला सरस्वतीलाई कोब्रा सर्पले डसेको थियो। सर्पदंशपछि परिवारले तत्काल उपचारका लागि नेपाल रेडक्रस सोसाइटी, दमकस्थित सर्पदंश उपचार केन्द्र पुर्‍याएका थिए।


घटनाबारे राति १०ः२५ बजे इलाका प्रहरी कार्यालय दमकमा जानकारी प्राप्त भएपछि प्रहरी टोली अस्पताल पुगेको थियो। उपचारकै क्रममा राति १०ः४० बजे चिकित्सकले सरस्वतीलाई मृत घोषणा गरेका थिए।
प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।

वर्षायामसँगै सर्पदंशका घटना बढ्न थालेकाले घर तथा आसपासको वातावरण सफा राख्न र सर्प देखिएमा सुरक्षित दूरी कायम गरी सम्बन्धित निकायलाई जानकारी गराउन प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ।