झापामा कोशी प्रदेश स्तरीय ओपन ब्यान्ड च्यालेन्ज हुँदै, सात ब्यान्ड फिजिकल अडिसनमा छनोट

झापा । झापामा लोकप्रिय सांगीतिक प्रतियोगिता ‘झापा रकस्टार’को तेस्रो संस्करणअन्तर्गत यस वर्ष ‘कोशी प्रदेश स्तरीय ओपन ब्यान्ड च्यालेन्ज’ आयोजना हुने भएको छ। अमृत स्टोर, बिर्तामोडको प्रस्तुतिमा तथा N.S.S इभेन्टको व्यवस्थापनमा सञ्चालन हुने प्रतियोगिताबारे बिहीबार बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको हो।

संगीत क्षेत्रमा सक्रिय युवा तथा नवप्रतिभालाई आफ्नो कला, क्षमता र सिर्जनशीलता प्रदर्शन गर्ने अवसर प्रदान गर्दै पूर्वी नेपालका उदाउँदा ब्यान्डहरूलाई व्यवस्थित मञ्च उपलब्ध गराउने उद्देश्यले ‘झापा रकस्टार’ आयोजना गरिएको आयोजकले जनाएको छ। पत्रकार सम्मेलनमा आयोजक अमृत स्टोरका अध्यक्ष अमृत पौडेलले पहिलो चरणको डिजिटल अडिसनमा सहभागी १२ वटा ब्यान्डमध्ये उत्कृष्ट सात ब्यान्ड फिजिकल अडिसनका लागि छनोट भएको जानकारी दिए। उनका अनुसार बेस क्लिप ब्यान्ड, रागभर्स, स्ट्रबरी ब्यान्ड, जेनम ब्यान्ड, कालचक्र ब्यान्ड, यात्री ब्यान्ड र आवाज ब्यान्ड अर्को चरणका लागि छनोट भएका छन्।

कार्यक्रम निर्देशक सुनिता तामाङले ‘झापा रकस्टार’ केवल प्रतिस्पर्धामा सीमित नभई संगीतप्रेमी, कलाकार र दर्शकलाई एउटै मञ्चमा जोड्ने सांगीतिक उत्सवका रूपमा स्थापित हुँदै गएको बताइन्। यस्ता कार्यक्रमले स्थानीय प्रतिभाको पहिचान, प्रवर्द्धन तथा सांगीतिक संस्कृतिको विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्दै उनले प्रतियोगितामा कुनै पनि प्रकारको भोटिङ प्रणाली नराखिएको स्पष्ट पारिन्।
प्रतियोगिताका लागि गत वैशाख ५ गतेदेखि जेठ १० गतेसम्म डिजिटल अडिसनका लागि आवेदन खुला गरिएको थियो। कोशी प्रदेशका विभिन्न स्थानबाट ब्यान्डहरूको उल्लेखनीय सहभागिता रहेको आयोजकको भनाइ छ।

कार्यक्रमका जनसम्पर्क अधिकृत प्रकाश संग्रौलाका अनुसार आगामी असार १५ गते बिर्तामोडमा हुने फिजिकल अडिसनबाट उत्कृष्ट पाँच ब्यान्ड छनोट गरिनेछ। ती ब्यान्डबीच ग्रान्ड फिनालेमा अन्तिम प्रतिस्पर्धा हुनेछ।
प्रतियोगिताको विजेता ब्यान्डले ५० हजार रुपैयाँ नगदसहित गिटार, पोर्टफोलियो सुट तथा अफिसियल म्युजिक भिडियो निर्माण गर्ने अवसर प्राप्त गर्नेछ। दोस्रो स्थान हासिल गर्ने ब्यान्डले ३० हजार रुपैयाँ नगद, गिटार र पोर्टफोलियो सुट प्राप्त गर्नेछ भने तेस्रो हुने ब्यान्डले २० हजार रुपैयाँ नगदसहित गिटार र पोर्टफोलियो सुट प्राप्त गर्ने आयोजकले जनाएको छ।
कार्यक्रम सफल बनाउन सरकारी तथा गैरसरकारी संस्था, निजी क्षेत्र, सञ्चारमाध्यम र संगीतप्रेमीहरूको सहयोग रहने निर्देशक तामाङले बताइन्।
यसअघि २०८१ सालमा ‘झापा रकस्टार’को पहिलो संस्करण अन्तर्गत ‘खुला ब्यान्ड ब्याटल’ तथा दोस्रो संस्करणमा ‘अन्तरविद्यालय स्तरीय ब्यान्ड ब्याटल’ सफलतापूर्वक सम्पन्न भइसकेको थियो। आयोजकका अनुसार तेस्रो संस्करणले पनि कोशी प्रदेशका प्रतिभाशाली ब्यान्डहरूलाई राष्ट्रिय स्तरसम्म पुग्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।
