सीमा विवादको चर्चाबीच बिर्तामोडमा नेपाल–भारत संयुक्त बैठक

बिर्तामोड, जेठ २९ । नेपाल र भारतबीच सीमा विवादको प्रसंग उठिरहेका बेला नेपाल र भारतका अधिकारीहरुबीच सीमासम्बन्धी संयुक्त बैठक झापाको बिर्तामोडमा सम्पन्न भएको छ ।
बैठकमा पूर्वी नेपालको झापा, इलाम, पाँचथर र ताप्लेजुङको भारतसँग जोडिएको सीमाका बारेमा छलफल भएको छ । सीमामा रहेका पिल्लरहरु के कति भत्किएका छन् र के कति मर्मत भएका छन् भन्ने विषयमा दुवै देशका अधिकारीहरुले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
फिल्डमा खटिएका टीमहरुले ३ महिनाको अवधिमा निर्माण र मर्मत गरेका पिल्लरका बारेमा बैठकमा विवरण प्रस्तुत गरिएको कार्यक्रममा सहभागी एक सुरक्षा अधिकारीले बताए । सीमा स्तम्भ मर्मतका विषयमा नियमित रुपमा यस किसिमको संयुक्त बैठक बस्दै आएको छ ।
बैठकमा झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, सहायक प्रमुख जिल्ला अधिकारीहरु तेजप्रकाश प्रसाईं, अन्जन न्यौपाने, झापा जिल्लाका नापी अधिकृत शिवप्रसाद लम्साल, झापाका डिभिजन वन अधिकृत नथुनी गोहीयारी यादव, सशस्त्र प्रहरी उपरीक्षक अम्बिकाप्रसाद जोशी, झापाका प्रहरी उपरीक्षक बसुन्धरा खड्का, इलाम, पाँचथर र ताप्लेजुङका प्रशासन र प्रहरी, वन र नापी प्रमुखहरु सहभागी रहेका थिए ।
त्यस्तै, सीमा सम्बन्धी भारतीय उच्च अधिकारीहरु पनि सहभागी रहेका थिए । भारत बिहार राज्य किसनगञ्ज जिल्लाका डिस्ट्रिक मजिस्ट्रेट विशाल राज, एसएसबीका १९औँ बटालियनका कमान्डेन्ट योगेशकुमार सैनी, एसएसबीका ३६औँ बटालियन कमान्डेन्ट सञ्जीव कुमार, आठौँ बटालियनका कमान्डेन्ट वसन्त सामी, सर्वेक्षक अधिकृत सन्तोष प्रसाद, सर्वेक्षक अधिकृत हिमाद्री शेखर चक्रवर्तीलगायतको सहभागिता रहेको थियो ।
