इलामको पर्यटन धान्दै आएको ल्यान्ड रोभर संकटमा

प्रकाश बानियाँ
6 June, 2026 8:36 pm

इलाम, जेठ २३ । कोशीको प्रमुख पर्यटकीय गन्तव्यमध्येको जिल्ला इलाम हो । इलामको पर्यटनलाई एक हदसम्म ल्यान्ड रोभरले त्राण भरेको छ । दुर्गम र विकट स्थानका पर्यटकीय गन्तव्यमा जान÷आउन बेलायतमा निर्मित यो सवारी साधन उपयुक्त विकल्प बन्दै आएको छ ।
आजभन्दा झन्डै ७० वर्षअघि निर्मित बलियो यो सवारी साधन इलाममा मात्र ३० वटाजति छन् । जसले भिरालो, अप्ठ्यारो र कच्ची सडकमा सहजै यात्रा गराउँदै आएका छन् ।
तर, भारतीय व्यवसायीले खरिद गरेर लैजान थालेपछि यो पुरानो सवारीसाधन नेपालमा अभाव हुन थालेको छ । जसले इलामको ग्रामीण पर्यटनमा प्रभाव पर्ने एकजना ल्यानड रोभर चालक टंक श्रेष्ठ बताउँछन् ।
ल्यान्ड रोभरको संरक्षण तथा यहाँको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले इलाम नगरपालिकाको नगर पर्यटन प्रवद्र्धन समितिले शनिबार ल्यान्ड रोभर र्याली आयोजना गरेको छ । नेपालका र भारतका ३० वटा ल्यान्ड रोभरले बिब्ल्याँटे हुँदै माइपोखरीसम्म र्याली प्रदर्शन गरेका थिए ।
इलामको कृषि उत्पादन पनि पर्यटकका लागि अध्ययनको केन्द्र हुँदै आएको छ । एक समय सरकारले २० वर्षभन्दा बढी प्रयोग भएका सवारीसाधन हटाउने नीति ल्याउँदा ऐतिहासिक पहिचान बोकेको ल्यान्ड रोभरसमेत प्रभावित बनेको थियो। तर, तत्कालीन संविधानसभा अध्यक्ष सुवास नेम्वाङको पहलपछि ल्यान्ड रोभरलाई उमेरको हदबन्दीबिना सञ्चालन गर्न पाउने व्यवस्था गरिएको थियो ।