सोनाम पाल्जोर तामाङ बने ‘मेरो कविता’ का विजेता, ३ लाखसहित सम्मानित

ई-झापा संवाददाता
31 March, 2026 3:49 pm

झापा । ‘मेरो कविता : द रिदम अफ पोइट्री’ सिजन-१ को उपाधि भारत सिक्किमका कवि सोनाम पाल्जोर तामाङले जित्न सफल भएका छन् । उपाधिसँगै उनले नगद ३ लाख रुपैयाँ पनि प्राप्त गरेका छन् ।

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख आतिथ्यमा सोमबार सम्पन्न ग्रान्ड फिनालेमा क्रमश: सुनसरीका प्रवेग हाङसोराङ उपविजेता बन्दै नगद १ लाख रुपैयाँ र झापाका कवि टोलीप्रसाद राजवंशी सेकेन्ड रनरअपका रुपमा ७५ हजार रुपैयाँसहित पुरस्कृत भएका छन् । त्यस्तै फिदिमका कवि शेशे थाम्सुहाङ थर्ड रअनरप बनेका छन् । उनले ५० हजार रुपैयाँ नगद प्राप्त गरेको ग्लोबल भुटनिज लिटरेचर अर्गनाइजेसन (GBLO)का अध्यक्ष पातलो अन्तरेले जानकारी दिएका छन् ।

प्रमुख अतिथि कुलपति राईले ‘काठमाडौंलाई केन्द्र मान्ने परम्परालाई मेरो कविता : द रिदम अफ पोयट्री’ कार्यक्रमले भत्काउन सफल भएको धारणा व्यक्त गरेका छन् । नेपाली भाषामा कविता लेखिरहेका नवीन प्रतिभाहरूको पहिचान र प्रवर्द्धन गर्ने उद्देश्यले माई प्लेटफर्मद्वारा निर्माण गरिएको यस रियालिटी सोको निर्देशन केवल क्षेत्रीले गरेका थिए भने पवित्रा राई सहायक निर्देशकका रूपमा रहेकी थिइन् ।कार्यक्रममा शुभकामना मन्तव्य राख्दै सिक्किम कल्चरल विङका स्टेट चिफ कोअडिनेटर मनोज लामाले कविता मार्फत विश्वभरका नेपालीलाई भावनात्मक रुपमा जोड्दै नेपाली भाषा,कला,संस्कृति र पर्यटन क्षेत्रको समेत संरक्षण र प्रबर्द्धनमा टेवा पुगेको बताउनु भयो ।

मङ्सिर ९ गतेबाट डिजिटल अडिसन सुरु भएको प्रतियोगितामा नेपालसहित विभिन्न मुलुकमा रहेका करिब २५० भन्दा बढी नेपालीभाषी कविहरूको सहभागिता रहेको थियो । विभिन्न चरण पार गर्दै हाल १० जना कविहरूले ग्रान्ड फिनालेमा प्रतिस्पर्धा गरेका थिए । झापाको दमक बेलडाँगी क्षेत्रमा भएको प्रतियोगताको निर्णायक मण्डलमा कविद्वय हेमन यात्री र उत्तम तुम्सा लिम्बु, चर्चित गजलकार सुमन स्मारिका तथा अज्ञात ददी रहेका थिए ।

कार्यक्रमका लागि आयोजक जिबिएलओका अध्यक्ष पातलो अन्तरे, कोषाध्यक्ष शेखर कोइराला नेपाल र बेलडाँगी शिविरका सचिव सञ्चहाङ सुब्बाले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा स्वागत मन्तव्य मनिकुमार क्षेत्रीले गरेका थिए भने कार्यक्रमको सञ्चालन सञ्चारकर्मी सुमन कुरुम्बाङले गरेका थिए ।