विद्यालय–विद्यालय पुगेर विद्यार्थी उत्साहित गर्दै नगर प्रमुख, शिक्षामा लगानी बढाउँदै अर्जुनधारा

ई-झापा संवाददाता
23 February, 2026 8:29 pm

अर्जुनधारा, ११ फागुन। झापाको अर्जुनधारा नगरपालिकाले शिक्षालाई प्राथमिकतामा राख्दै नगरलाई शैक्षिक रूपमा उत्कृष्ट बनाउने अभियान अघि बढाएको छ। सोही क्रममा एसइई परीक्षाको तयारी गरिरहेका विद्यार्थीलाई उत्साह र प्रेरणा दिन नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङ विद्यालय–विद्यालय पुगेर साक्षात्कार गरिरहेका छन्।

नगरपालिकाले आसन्न एसइई परीक्षामा ४ जिपिए अंक ल्याउने विद्यार्थीलाई कक्षा ११ र १२ मा निशूल्क अध्ययनको व्यवस्था गर्ने घोषणा गरेको छ। त्यस्तै, कम्तीमा ३.६ जिपिए ल्याउने विद्यार्थीलाई कक्षा ११ मा अनलाइन ट्युसन निशूल्क उपलब्ध गराइने नगर प्रमुख गोम्देनले जानकारी दिए ।

नगरमा रहेका निजी तथा सामुदायिक माध्यमिक विद्यालयका विद्यार्थीसँग प्रत्यक्ष भेटघाट गर्दै उनले शैक्षिक गुणस्तर उकास्ने लक्ष्यसहित प्रोत्साहन कार्यक्रम ल्याइएको स्पष्ट पारे। उनका अनुसार लोक सेवा आयोगको तयारी गर्ने विद्यार्थीलाई लाग्ने शुल्कको ५० प्रतिशत नगरपालिकाले व्यहोर्ने व्यवस्था समेत गरिनेछ।

आज नगर प्रमुखसहितको टोलीले १० वटा विद्यालयमा पुगेर विद्यार्थीहरूसँग अन्तरक्रिया गरेको थियो। अर्जुनधारामा हाल निजी तथा सामुदायिक गरी २८ वटा माध्यमिक विद्यालय सञ्चालनमा रहेका छन्।

यसअघि पनि नगर प्रमुख गोम्देनले जिल्लास्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका स्वर्ण पदक विजेता खेलाडीलाई स्वास्थ्य बीमा तथा एक वर्ष निशूल्क अध्ययनको घोषणा गरेका थिए। शिक्षासँगै खेलकुद क्षेत्रमा पनि प्रोत्साहनात्मक योजना ल्याउँदै नगरपालिकाले समग्र विकासको अभियान अघि बढाएको जनाएको छ।