दिपेन्द्र आधारभूत विद्यालयको ३८औँ वार्षिक उत्सव सम्पन्न : मातृभाषा मेचे शिक्षासहित गुणस्तरीय शिक्षामा नमूना बन्दै विद्यालय

हल्दिबारी , ७ फागुन । झापा हल्दिबारी गाउँपालिका–४ ऐनाबारीस्थित दिपेन्द्र आधारभूत विद्यालयले आफ्नो ३८औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न गरेको छ । २०४४ सालमा स्थापना भएको यस विद्यालयमा हाल नर्सरीदेखि कक्षा ८ सम्म अध्यापन हुँदै आएको छ । विद्यालयमा हाल करिब ३०० विद्यार्थी अध्ययनरत छन् भने १४ जना शिक्षक तथा कर्मचारी कार्यरत छन्। समावेशी शिक्षालाई प्राथमिकतामा राख्दै विद्यालयले मेचे भाषामा कक्षा १ मा विगत तीन वर्षदेखि पठन–पाठन गराउँदै आएको छ। विद्यालयका प्रधानाध्यापक अर्जुन भट्टराई रहेका छन् । कार्यक्रमका प्रमुख अतिथि हल्दिबारी गाउँपालिका अध्यक्ष रबिन्द्र प्रसाद लिङदेनले मातृभाषामा आधारित शिक्षा स्थानीय पहिचान जोगाउने महत्वपूर्ण आधार भएको बताउनुभयो । उहाँले ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयहरूले गुणस्तरीय शिक्षा र मातृभाषाको संरक्षणलाई सँगसँगै अघि बढाउनु अत्यन्त सराहनीय काम भएको बताउनुभयो । उहाँले दिपेन्द्र आधारभूत विद्यालयले मेचे भाषामा पठन–पाठन सुरु गरेर सकारात्मक उदाहरण प्रस्तुत गरेको बताउँदै गाउँपालिकाले यस्ता शैक्षिक प्रयासलाई निरन्तर सहयोग गर्नेछ बताउनुभयो ।

कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष सन्तोषकुमार मेचेको अध्यक्षतामा सम्पन्न भएको थियो । व्यवस्थापन समिति अध्यक्ष मेचेले विद्यालयको शैक्षिक उपलब्धि सामूहिक प्रयासको परिणाम भएको बताउँदै अभिभावक, शिक्षक तथा समुदायको भूमिकाको प्रशंसा गर्नुभयो । उहाँले मेचे भाषा संरक्षणका लागि सुरु गरिएको मातृभाषा शिक्षाले बालबालिकाको सिकाइमा आत्मविश्वास बढाएको बताउनुभयो । उहाँले आगामी दिनमा विद्यालयको भौतिक पूर्वाधार, शौचालय, तटबन्धन र स्वास्थ्य सुरक्षामा अझै सुधार गर्दै जाने बताउनुभयो । कार्यक्रमको सञ्चालन शिक्षक केशवकुमार चुंडालले गर्नुभएको थियो भने शिक्षक टीका निरौलाले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा विद्यार्थीहरूले गायन, नृत्य, भाषण प्रस्तुत गर्नुका साथै सन्थाल–मेचे समुदायको मौलिक नृत्य प्रस्तुत गरी उपस्थित अभिभावक तथा अतिथिहरूको मन जितेका थिए । विद्यालयका अनुसार हालसम्म यहाँबाट नेपालभरका ४० जना विद्यार्थी काठमाडौंस्थित बुढानिलकण्ठ विद्यालयमा अध्ययनरत छन् । तीमध्ये दुई जना विद्यार्थी पूर्ण छात्रवृत्ति पाएर अध्ययनरत रहेको विद्यालयले जानकारी दिएको छ । कार्यक्रममा मेचे भाषा संरक्षणका लागि स्थापना गरिएको शैक्षिक सुधार अक्षय कोषमा सहयोग गर्ने ३० जना दातालाई सम्मानपत्रद्वारा सम्मान गरिएको थियो ।

साथै वर्ष उत्कृष्ट शिक्षकका रूपमा प्रेरणा खड्का र उत्कृष्ट अभिभावकका रूपमा मन्जु महतोलाई सम्मानपत्र प्रदान गरियो । समृद्धि मेचे र शिक्षा बाँस्कोटालाई पनि अभिभावक सम्मान प्रदान गरिएको थियो । कार्यक्रमले विद्यालय–अभिभावक–समुदायबीचको सम्बन्धलाई थप मजबुत बनाएको सहभागीहरूले बताएका छन् । मातृभाषा संरक्षणसँगै गुणस्तरीय शिक्षाको अभ्यास गर्दै आएको दिपेन्द्र आधारभूत विद्यालय स्थानीयस्तरमै नमूना शैक्षिक संस्थाका रूपमा स्थापित हुँदै गएको आयोजकको भनाइ छ ।
