नयाँ शैक्षिक सत्र लक्षित गर्दै जीबीओको शैक्षिक सामग्री वितरण

झापा , ४ फागुन । जीबीओ (GBO) ले जागृत बाल उद्धार केन्द्र नेपालमा आश्रय लिएर बसिरहेका १७ जना बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको छ। नयाँ शैक्षिक सत्रलाई लक्षित गर्दै कापी, किताब, पेन, पेन्सिल, कभर, ज्यामिति बक्स लगायत आवश्यक शैक्षिक सामग्री हस्तान्तरण गरिएको हो।
उक्त वितरण कार्यक्रम जीबीओ यूएसएका “Diaspora Partnership and Foreign Affairs” पदमा कार्यरत भीम गुरुङ तथा जीबीओ नेपालका अध्यक्ष शिला उप्रेतीको उपस्थितिमा सम्पन्न भएको थियो। कार्यक्रममा केन्द्रका पदाधिकारी, स्थानीय अभिभावक तथा सहयोगीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
यस अवसरमा जीबीओका कोषाध्यक्ष अर्जुन उप्रेतीले आगामी दिनहरूमा शिक्षा क्षेत्रसँगै अन्य सामाजिक क्षेत्रहरूमा समेत सहयोग तथा फन्डिङ गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले समाजको आवश्यकता पहिचान गरी स्वास्थ्य, सीप विकास तथा समुदाय सशक्तीकरणका कार्यक्रमहरूमा पनि सहकार्य गरिने बताए।
जागृत बाल उद्धार केन्द्र नेपालले विभिन्न कारणले जोखिममा परेका तथा अभिभावकविहीन बालबालिकालाई उद्धार गरी संरक्षण, आवास, शिक्षा तथा परामर्श सेवा प्रदान गर्दै आएको छ।
जीबीओले भविष्यमा पनि यस्ता सहयोगमूलक तथा मानवीय कार्यक्रमहरूलाई निरन्तरता दिँदै समाज रूपान्तरणमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाएको छ।
