अर्जुनधारा–११ को शानदार जित, अर्जुनधारा–८ लाई ७–० ले हराउँदै फाइनलमा प्रवेश

ई-झापा संवाददाता
5 November, 2025 10:47 pm
अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिका–९स्थित खरबन्दीमा जारी मचिन्द्र सुब्बा स्मृति दोस्रो वडास्तरिय भेट्रान नकआउट फुटबल प्रतियोगिताको फाइनलमा अर्जुनधारा नगरपालिका–१ र अर्जुनधारा–११बीच प्रतिस्पर्धा हुने भएको छ।

स्थानीय नमूना खेलमैदानमा बुधबार सम्पन्न भएको अन्तिम सेमीफाइनल खेलमा अर्जुनधारा नगरपालिका–८ नं. वडालाई ७–० गोल अन्तरले पराजित गर्दै अर्जुनधारा–११ नं. यस अघि फाइनल पुगेको अर्जुनधारा–१सँग प्रतिस्पर्धा गर्ने पक्का भएको हो ।

अर्जुनधारा–११को जीतको लागि खेलको १८औं, २४औं, ४१औं र ५२औं मिनेटमा बाबुराम धिमालले चार गोल गरेका थिए । त्यसैगरी खेलको दोस्रो र २२औं मिनेटमा युवराज गिरीले तथा खेलको ५८औं मिनेटमा सोनम राईले एक गोल गरेका थिए ।

खेलमा विजेता टिमका बाबुराम धिमाल उत्कृष्ट खेलाडी भएका थिए । उनलाई कार्यक्रमका प्रमुख अतिथि अर्जुनधारा–९का वडाध्यक्ष भीष्म मिश्र, अर्जुनधारा नगर सभा सदस्य एवम् दाता बुद्धिमान लिम्बू, अर्जुनधारा नगर खेलकुद विकास समितिका अध्यक्ष सुरेन्द्रबहादुर धिमाललगायतले नगद पुरस्कार १५ सयबाट पुरस्कृत गरेका थिए । उक्त नगद पुरस्कार एभरग्रीन इङलिस बोर्डीङ स्कूलका संस्थापक धुर्व श्रेष्ठले सौजन्य गरेका थिए ।

पर्सी (शुक्रबार)को अन्तिम सेमीफाइनल खेल दिँउसो ३ बजे अर्जुनधारा नगरपालिका हुने आयोजक गोलधाप युवा क्लबका सदस्य उज्जवल कट्टेलले जानकारी दिए । प्रतियोगिताको विजेता र उपविजेता हुने टिमले नगद पुरस्कार क्रमश ५१ हजार र ३१ हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् ।