झापा गोल्ड कप सातौँ संस्करण माघ २४ देखि

ई-झापा संवाददाता
30 January, 2026 4:27 pm

बिर्तामोड, १६ माघ । मोफसलकै प्रतिष्ठित तथा पूर्वी नेपालका फुटबल प्रेमी दर्शकहरू माझ अत्यन्तै लोकप्रिय फुटबल प्रतियोगिता झापा गोल्ड कपको सातौँ संस्करण आगामी माघ २४ गतेदेखि सुरु हुने भएको छ। प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा सञ्चालन हुनेछ।
आयोजक समितिका अध्यक्ष केदार गिरीका अनुसार यस संस्करणलाई झापा गोल्ड कपका पूर्वअध्यक्ष स्वर्गीय विनोद बस्नेतको स्मृतिमा समर्पित गरिएको छ।
प्रतियोगितालाई ऐतिहासिक र भव्य बनाउने उद्देश्यका साथ यस वर्ष अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताका रूपमा आयोजना गरिने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ।
प्रतियोगितामा झापा–११ फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, त्रिभुवन आर्मी एफसी, एपीएफ एफसी, नेपाल पुलिस एफसी, मछिन्द्र एफसी, लालीगुराँस एसोसिएसन नेपाल पोखरा सहित भारत ,भुटान र मलेसियाका एक–एक टिमको सहभागिता रहने आयोजक समितिका महासचिव बुद्ध तामाङले जानकारी दिए।

यस वर्ष विजेता टोलीले नगद १५ लाख रुपैयाँ तथा
उपविजेताले ७ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन्। साथै उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर र उत्कृष्ट प्रशिक्षकलाई जनही नगद ३५ हजार रुपैयाँ प्रदान गरिनेछ। प्रत्येक खेलका ‘प्लेयर अफ द म्याच’ लाई नगद २५ हजार रुपैयाँ पुरस्कार दिइने आयोजकले जनाएको छ।

प्रतियोगिता सञ्चालनका लागि करिब १ करोड ५० लाख रुपैयाँ खर्च अनुमान गरिएको आयोजक समितिका वरिष्ठ उपाध्यक्ष गजेन्द्र बहादुर पौडेलले जानकारी दिए। झापा गोल्ड कपलाई सामाजिक तथा संस्थागत रूपमा अझ मजबुत बनाउँदै लैजाने प्रतिबद्धता पनि आयोजकले व्यक्त गरेको छ।