पदयात्रा सुरक्षित र आकर्षक बनाउन संस्कृति मन्त्रालयद्वारा ‘पदमार्ग मापदण्डसम्बन्धी दिग्दर्शन–२०८२’ जारी

ई-झापा संवाददाता
5 November, 2025 9:52 pm
काठमाण्डाै –संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘पदमार्ग मापदण्डसम्बन्धी दिग्दर्शन–२०८२’ जारी गरेको छ । मन्त्रालयका अनुसार पदयात्रालाई सुरक्षित र आकर्षक बनाउने उद्देश्यले मापदण्ड जारी भएको हो ।
दिग्दर्शनले पदयात्रीको सुरक्षा, एकरूपता र दिगोपनामा जोड दिएको छ । मन्त्रालयले पदमार्गलाई हाइकिङ, सहज र साहसिक गरी तीन वर्गमा विभाजन गरेको छ । हाइकिङ पदमार्ग एक दिनभित्र पूरा हुने कम्तीमा पाँच किलोमिटर दूरीको हुनेछ । सहज पदमार्ग तीन हजार मिटरभन्दा कम उचाइमा र साहसिक पदमार्ग तीन हजार मिटरभन्दा माथिको भनिएको छ ।
पदमार्ग निर्माण गर्दा प्राकृतिक, सांस्कृतिक र ऐतिहासिक महत्त्वका स्थलहरू जोड्ने, मोटरबाटोसँग नजोडिने, पाँच किलोमिटर दूरीभित्र चमेना गृह, खाजाघर र सुरक्षित आवासको व्यवस्था गर्नुपर्ने छ । पालिकाले समुदायको सहभागितामा सरसफाइ, वृक्षरोपण र सौन्दर्यकरण गर्नुपर्नेछ ।
मन्त्रालयले सहज पदमार्गका लागि प्रदेश सरकार र साहसिक पदमार्गका लागि सङ्घीय सरकार वा संरक्षित क्षेत्र कार्यालयले बजेट विनियोजन गर्ने व्यवस्था गरेको छ । पदयात्री सुरक्षाका लागि सङ्केत बोर्ड, रेलिङ, सावधानी सूचनाहरू हुनुपर्नेछ । पदमार्ग क्षेत्रमा फोहोर व्यवस्थापन र पर्यटन श्रमिक, पदयात्री तथा समुदायका लागि आचारसंहिता लागू गर्नुपर्ने छ ।