झापा–५ मा २४ जना उम्मेदवार चुनावी मैदानमा

ई-झापा संवाददाता
20 January, 2026 8:43 pm

झापा । आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि झापा जिल्लाको निर्वाचन क्षेत्र नम्बर ५ मा उत्साहजनक रूपमा उम्मेदवारी दर्ता भएको छ ।


निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम नामावली सूची अनुसार यस क्षेत्रबाट कुल २४ जनाले उम्मेदवारी दिएका छन् ।यस क्षेत्रमा नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली मुख्य प्रतिस्पर्धीका रूपमा रहेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट बालेन्द्र शाहको उम्मेदवारी परेको छ । नेपाली कांग्रेसबाट मन्दरा चिमरिया र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट रञ्जित तामाङले पनि उम्मेदवारी दर्ता गराएका छन् ।

२४ जना उम्मेदवारहरूमध्ये १० जना स्वतन्त्र उम्मेदवार रहेका छन् भने बाँकी १४ जना विभिन्न राजनीतिक दलका तर्फबाट चुनावी मैदानमा उत्रिएका छन् ।चुनावी प्रतिस्पर्धामा जनमत पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमुक्ति पार्टी, र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च लगायतका दलहरूले पनि आफ्ना उम्मेदवार उठाएका छन् ।
कुल २४ उम्मेदवारमध्ये महिलाको उपस्थिति भने निकै न्यून देखिएको छ । सार्वजनिक सूची अनुसार मन्दरा चिमरिया (नेपाली कांग्रेस), रञ्जना गौतम (स्वतन्त्र) र शोभा भण्डारी (स्वतन्त्र) गरी मात्र ३ जना महिला उम्मेदवारहरू प्रतिस्पर्धामा छन् । बाँकी २१ जना पुरुष उम्मेदवार रहेका छन् ।


उम्मेदवारहरूको उमेर समूहलाई हेर्दा २७ वर्षदेखि ७५ वर्षसम्मका व्यक्तिहरूले झापा–५ बाट प्रतिनिधित्वका लागि आकांक्षा देखाएका छन् । सबैभन्दा कान्छा उम्मेदवारका रूपमा सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट २७ वर्षका सुशान्त साग्त राई रहेका छन् ।