देउमाई झापा समाजद्वारा विपद् प्रभावित विद्यार्थीलाई न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण

ई-झापा संवाददाता
15 January, 2026 7:26 pm

इलाम , १ माघ । देउमाई झापा समाजले देउमाई नगरपालिका भित्रका विभिन्न विद्यालयमा अध्ययनरत विपद् प्रभावित विद्यार्थीहरूलाई जाडोमा प्रयोग हुने न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण गरेको छ।
गत असोज १८ गते अविरल वर्षासँगै आएको विनाशकारी बाढी र पहिरोका कारण देउमाई क्षेत्रका धेरै विद्यार्थीहरूको घर, शैक्षिक सामग्री, विद्यालय पोशाक तथा महत्वपूर्ण कागजातहरू नष्ट भएका थिए। यसले उनीहरूको पढाइमा गम्भीर असर परेको भन्दै विद्यार्थीहरूको शैक्षिक भविष्यलाई निरन्तरता दिन सहयोग गरिएको हो।

बाढी–पहिरोका कारण शैक्षिक भविष्य नै अन्योलमा पर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै हाल बेलायतमा रहनु भएका देउमाई नगरपालिका–३ निवासी गजेन्द्र कटुवालको विशेष सहयोगमा सामग्री वितरण गरिएको देउमाई झापा समाजले जनाएको छ।
देउमाई झापा समाजले तोकेको समयसीमा भित्र विभिन्न विद्यालयबाट प्राप्त तथ्यांकका आधारमा जम्मा ३८ जना विद्यार्थीलाई न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण गरिएको समाजका अध्यक्ष मोति गौतमले जानकारी दिनु भयो।

कार्यक्रम अन्तर्गत देउमाई झापा समाजको तर्फबाट रु ५४,८०० र गजेन्द्र कटुवालको तर्फबाट रु २५,००० गरी जम्मा रु ७९,८०० बराबरको न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण गरिएको समाजले जनाएको छ।