युवा व्यवसायी समाज झापाको नयाँ नेतृत्व चयन : अध्यक्षमा पराजुली, महासचिवमा बानियाँ

ई-झापा संवाददाता
5 January, 2026 7:57 pm

बिर्तामोड , २१ पौष। युवा व्यवसायी समाज झापाको प्रथम अधिवेशनले सुसन पराजुलीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ। अध्यक्ष पराजुली समाजको अध्यक्षमा दोस्रो पटक चयन हुनुभएको हो।

नयाँ कार्यसमितिको उपाध्यक्षमा मदन ढुङ्गेल र महासचिवमा प्रकाश बानियाँ चयन हुनुभएको छ। उपाध्यक्ष ढुङ्गेल पनि पुनः दोहोरिनुभएको हो भने महासचिव बानियाँ यसअघिको कार्यसमितिमा सचिवको जिम्मेवारीमा रहनुभएको थियो। यस्तै सचिवमा विज्ञानराज पौडेल र कोषाध्यक्षमा टिका बराल चयन हुनुभएको छ। सदस्यहरूमा बाबुराम मिश्र, कुमार थापा, विष्णु झा, सुवास मैनाली, दिवस पुरी र साजन आचार्य चयन हुनुभएको छ। प्रथम अधिवेशनले अध्यक्षसहित सबै पदमा सर्वसम्मत रूपमा नेतृत्व चयन गरेको महासचिव प्रकाश बानियाँले जानकारी दिनुभयो।

पर्यटकीय स्थल अर्जुनधारा नगरपालिकाको सालबारी झिलमा सम्पन्न समाजको प्रथम अधिवेशनको उद्घाटन सत्रमा कर सहयोगी श्रमिक संगठन झापाका अध्यक्ष सोशनलाल राजवंशी प्रमुख अतिथि रहनुभएको थियो।

उद्घाटन सत्रमा अध्यक्ष पराजुलीले संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै २०८१ वैशाख २४ गते स्थापना भएको संस्थाले व्यवसायिक हित, संरक्षण तथा सामाजिक क्षेत्रमा खेलेको भूमिकाबारे जानकारी गराउनुभएको थियो ।

त्यस्तै, कोषाध्यक्षको तर्फबाट निवर्तमान सचिव प्रकाश बानियाँले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो। उहाँका अनुसार संस्थाले हालसम्म ८८ हजार ८ सय ४८ रुपैयाँ आम्दानी गरेको छ भने ३६ हजार ८ सय ९० रुपैयाँ खर्च भएको छ। बाँकी रकम बैंक खातामा मौज्दात रहेको छ ।

संस्थाका सल्लाहकार भुपेन्द्र भण्डारी र महासचिव हरि आचार्यले मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन सचिव प्रकाश बानियाँले गर्नुभएको थियो। कार्यक्रममा पत्रकार महासंघ झापाका सहसचिव तिलक योञ्जन, बिर्ताजेसीजका महासचिव विज्ञानराज पौडेल तथा सञ्चारकर्मी कवि गुरागाईँको लगायतकाे आतिथ्य रहेको थियो भने निवर्तमान वरिष्ठ उपाध्यक्ष उमेश आचार्यले स्वागत मन्तव्य राख्नुभएको थियो।