जेनजी आन्दोलनमा प्रहरी विवरण नदिँदा आईजीपी खापुङसँग आयोगले स्पष्टीकरण माग्यो, रविको ६ घण्टा बयान

ई-झापा संवाददाता
5 November, 2025 9:17 pm
काठमाडौं । जेनजी आन्दोलनको जाँचबुझ गर्ने आयोगले नेपाल प्रहरीका आईजीपी चन्द्रकुवेर खापुङसँग स्पष्टीकरण सोधेको छ ।
आन्दोलनमा खटिएका प्रहरीको विवरण दिन आनाकानी गरेका कारण उनीसँग स्पष्टीकरण सोधिएको आयोगका प्रवक्ता तथा पूर्वप्रहरी एआईजी विज्ञानराज शर्माले बताए ।
यद्यपि प्रहरीले बुधवार ढिलो गरी आन्दोलनमा खटिएका कर्मचारीको विवरण पठाएको छ । प्रवक्ता शर्माका अनुसार बिहीबार बिहानबाट सम्बद्ध प्रहरी कर्मचारीको बयान लिइने भएको छ ।


प्रहरीबाट प्राप्त विवरणमा उल्लेखित कर्मचारीमध्ये कसलाई, कहिले बयानमा बोलाउने भन्नेबारे निर्क्यौल गरेर उक्त कार्य थालनी हुने उनले बताए । जाँचबुझका क्रममा बयान लिनुपर्ने अवस्थाका प्रहरीलाई मात्रै बोलाइने शर्माले बताए ।
रविसँग ६ घण्टा बयान
रास्वपा सभापति रवि लामिछानेसँग ६ घण्टा बयान लिएर नख्खु कारागार फिर्ता पठाइएको छ ।
सबै कागजात मिलाउनुपर्ने र उनीसँग सम्बद्ध घटनाको संवेदनशीलताका कारण बयान लामो भएको शर्माले बताए ।
जेनजी आन्दोलनका क्रममा भदौ २४ गते रवि कारागारमुक्त भएपछि देशभरका कारागारबाट कैदी-बन्दी भाग्ने क्रम सुरु भएको थियो ।
आयोगले लामिछानेलाई उक्त घटनाका सम्पूर्ण प्रमाण सहित उपस्थित हुन भनेको थियो ।
उनले आफूसँग उपलब्ध प्रमाण पेश गरेको आयोग स्रोतले जनायो । ‘जेलबाट बाहिर जाने जति दोषी हुन्छन्, तिनलाई बाहिर पठाउने पनि उत्तिकै दोषी छ’ आयोग स्रोतले बतायो ।