संविधान र लोकतन्त्रको रक्षा एमालेकै काँधमा , झापा जनसभाबाट कडा सन्देश

झापा। नेकपा (एमाले) केन्द्रीय सचिव पदमा अर्यालले लाखौं ताराहरुका सामुन्ने एउटै सूर्य काफी रहेको बताउनु भएको छ । पार्टीका अध्यक्ष पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा आयोजित जनसभालाई सम्बोधन गर्दै उहाँले जति तारा भए पनि एउटै सूर्य काफी रहेको बताउनुभयो ।अध्यक्ष ओलीको गृह जिल्ला झापा मुलुकको भविष्यको मार्गचित्र भएको बताउनुभएको छ ।

झापाले मुलुकको रुपान्तरणका लागि ठुलो योगदान गरेको बताउँदै फेरि झापाली जनता संविधानको रक्षाका लागि अग्रभागमा आएकोमा खुशी व्यक्त गर्नुभयो ।नेकपा एमाले झापाले आज बिर्तामोडमा आयोजना गरेको बिशाल जनसभालाई सम्बोधन गर्दै प्रतिगमनका विरुद्ध झापाली जनताको बलियो साथ एमालेलाई रहेको बताउनुभएको छ
। प्रतिनिधिसभा पुनस्र्थापना, संविधानको रक्षाका लागि पूर्वबाट झापालीहरुले दिएको सन्देश देशभरका लागि ठुलो योगदान हुने धारणा व्यक्त गर्नुभयो ।जनसभालाई सम्बोधन गर्दै नेकपा एमाले केन्द्रीय सचिव अर्यालले प्रतिगमनकारी, देशद्रोही र आतंककारीहरुलाई एक दिन कानुनको कठघरामा उभ्याएर छोड्ने चेतावनी दिनुभयो । देशको झण्डा ओढेर राष्ट्रलाई खरानी बनाउने छुट कसैलाई नभएको उहाँको भनाई थियो ।

राष्ट्र र जनताको अहितमा भएको कुनै पनि कामप्रति एमाले चुप नबस्ने धारणा राख्दै उहाँले त्यस्ता समूहहरुलाई ठेगान लगाएर छोड्ने चेतावनी दिनुभयो । जनसभामा उहाँले संविधानको रक्षा गर्ने दायित्व एमालेको काँधमा आएको बताउनुभयो । उहाँले संविधानको रक्षाका लागि झापाली जनताको विशेष भूमिका आवश्यक भएको बताउदै प्रतिगमनलाई पछारेर अघि बढ्न एमाले सडकमा आएको बताउनुभयो ।
संविधानको भावना मिचेर बनेको सरकार असंवैधानिक भएको र यसले निर्वाचन गर्ने भन्दै जनतालाई भुलभुलैयामा पारेको उहाँको भनाई छ । उहाँले भन्नुभयो – जननिर्वाचित सरकारलाई अपदस्त गरेर निर्वाचन गर्छु भन्नु नाटक मात्रै हो । एमाले निर्वाचनको लागि तयार छ, त्यसको लागि वातावरण निर्माण गर्न सक्छ, उहाँले प्रश्न गर्नुभयो । शान्ति पूर्ण चुनावका लागि एमाले जहिल्यै पनि तयार रहेको उहाँको भनाई छ ।

झापाको जनसभाले एमालेलाई जनताको साथ रहेको सन्देश दिएको बताउँदै उहाँले एमाले विरुद्ध जतिसुकै पार्टी एक भए पनि एक्लै सूर्य काफी रहेको बताउनुभयो । केही पार्टी एक भएका छन्, नयाँ पार्टी खोलिएका छन्, उहाँले भन्नुभयो – यो सबै एमालेको विरोध गर्न खोलिका पार्टी मात्रै हुन् । संविधान र लोकतन्त्रको रक्षा एमालेले मात्रै गर्न सक्छ । जनसभामा एमालेका युवा नेता मनोज ताम्लीले राष्ट्रियताका निम्ति एमाले बाहेक कसैले बलिदाली दिन सक्ने बताउनुभयो । उहाँले लोकतन्त्र ल्याउन एमालेले नै बलिदानी दियो, लोकतन्त्रको रक्षाका लागि पनि एमाले नै बलिदानी दिन तयार रहेको बताउनुभएको छ । देश जलाउनेहरुलाई राष्ट्रवादी मान्न नसकिने भन्दै नेता ताम्लीले सिंहदरवार र सर्वोच्च जलाउनेहरु नेपाली हुन नसक्ने उनको भनाई थियो ।

जनसभालाई सम्बोधन गर्दै फेरि पनि देशको नेतृत्व, पार्टीको नेतृत्व केपी ओलीले नै गर्नुपर्ने उनको धारणा थियो ।जिल्लाभरबाट सहभागी हजारौं नेता कार्यकर्ताहरुको र्याली मुक्तिचोकबाट सुरु भई सिटि सेन्टरमा आयोजित जनसभामा पुगेको थियो । असंवैधानिक सरकार विरुद्ध झापाली जनताले जनसभा मार्फत बलियो खवरदारी गरेका हुन् । पार्टीका झापा जिल्ला अध्यक्ष प्रेम गिरीको अध्यक्षतामा भएको सभामा एमाले झापाका उपाध्यक्ष शिव ढुङगेल, बिर्तामोड नगर कमिटी अध्यक्ष सुवास भट्टराई लगायतले सम्बोधन गर्नुभयो ।