खुल्ला प्रतिस्पर्धाबाट छनोट भएका १६ प्रधानाध्यापकलाई बाह्रदशी गाउँपालिकाद्वारा नियुक्तिपत्र हस्तान्तरण
सामुदायिक विद्यालयमा पारदर्शी नियुक्ति प्रणालीको सुरुआत, शैक्षिक गुणस्तर सुधारमा नयाँ अपेक्षा

झापा । झापाको बाह्रदशी गाउँपालिकाले सामुदायिक विद्यालयमा पहिलोपटक खुल्ला प्रतिस्पर्धामार्फत छनोट भएका १६ जना प्रधानाध्यापकलाई करार सम्झौतासहित नियुक्तिपत्र हस्तान्तरण गरेको छ। शिक्षा क्षेत्रमा पारदर्शिता, प्रतिस्पर्धात्मक प्रणाली र गुणस्तरीय नेतृत्व विकास गर्ने उद्देश्यका साथ गाउँपालिकाले यो अभ्यास सुरु गरेको हो।

बुधबार आयोजित विशेष कार्यक्रममा गाउँपालिकाले नवनियुक्त प्रधानाध्यापकहरूसँग करार सम्झौतामा हस्ताक्षर गराउँदै औपचारिक रूपमा नियुक्तिपत्र प्रदान गरेको हो।
गाउँ शिक्षा समितिको निर्णयअनुसार प्रकाशित सूचनामार्फत योग्य उम्मेदवारबाट आवेदन आह्वान गरिएको थियो। प्रधानाध्यापक छनोट तथा व्यवस्थापन कार्यविधि–२०८२ बमोजिम शैक्षिक योग्यता, तालिम, कार्यअनुभव, विद्यार्थीको शैक्षिक उपलब्धि (नतिजा) लगायतका मापदण्डका आधारमा छनोट प्रक्रिया सम्पन्न गरिएको गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाका अनुसार खुल्ला प्रतिस्पर्धाबाट प्रधानाध्यापक छनोट गर्ने निर्णयले सामुदायिक विद्यालयमा योग्य र सक्षम नेतृत्व स्थापित गर्न, शैक्षिक सुशासन प्रवर्द्धन गर्न तथा विद्यालयको समग्र शैक्षिक गुणस्तर अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।
कक्षा १२ सम्म अध्ययन हुने तीन माध्यमिक विद्यालयमध्ये पशुपति माध्यमिक विद्यालयमा गुणनिधि लुइटेल, गौरीशंकर माध्यमिक विद्यालयमा लेखनाथ कटुवाल र फूलबारी माध्यमिक विद्यालयमा कुमार दाहाल प्रधानाध्यापक नियुक्त भएका छन्।
त्यसैगरी जनविकास माध्यमिक विद्यालयमा सुपेन राजवंशी, पञ्चमणी माध्यमिक विद्यालयमा धनमायादेवी पौडेल र अमृत माध्यमिक विद्यालयमा डुमेश्वर झा नियुक्त भएका छन्।
यस्तै भगवती आधारभूत विद्यालयमा घनश्याम उप्रेती, पशुपति आधारभूत विद्यालयमा सरोजा अर्याल, जनता विद्यालयमा लालबहादुर थापा, सुन्दरपुर विद्यालयमा सुपाल राजवंशी, साधुपर्ती विद्यालयमा टंकप्रसाद सापकोटा, राधानगर विद्यालयमा लोकबहादुर कार्की, घोडामारा विद्यालयमा तुलाराम निरौला, कटर्डाँगी आधारभूत विद्यालयमा शिवप्रसाद पोखरेल तथा रामनगर आधारभूत विद्यालयमा नरेश बराल प्रधानाध्यापक नियुक्त भएका छन्।
गाउँपालिकाले नवनियुक्त प्रधानाध्यापकहरूले विद्यालयको समग्र शैक्षिक गुणस्तर सुधार, प्रभावकारी शैक्षिक व्यवस्थापन, सुशासन प्रवर्द्धन तथा विद्यार्थीको सिकाइ उपलब्धि अभिवृद्धिमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेको छ।
