अपाङ्गता भएका १९७ जनालाई २२ लाख बराबरको सहायक सामग्री वितरण

प्रकाश बानियाँ ,मेचीनगर, ३० असार। मेचीनगर नगरपालिकाले अपाङ्गता रोकथाम तथा पुनस्र्थापना कार्यक्रम अन्तर्गत अपाङ्गता भएका व्यक्तिहरूलाई करिब २२ लाख रुपैयाँ बराबरको सहायक सामग्री वितरण गरेको छ। नगरपालिकाको महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा शाखाको आयोजनामा सम्पन्न कार्यक्रममा १९७ जना लाभग्राहीलाई दैनिक जीवन सहज बनाउन आवश्यक विभिन्न सहायक सामग्री हस्तान्तरण गरिएको महिला तथा बालबालिका शाखा प्रमुख जयन्ती खरेलले जानकारी दिनुभयो ।

कार्यक्रम करुणा फाउन्डेसन नेपाल, राष्ट्रिय अपाङ्ग महासङ्घ, कोशी प्रदेश तथा सामाजिक विकास मन्त्रालय, कोशी प्रदेश को सहकार्यमा सम्पन्न भएको हो।
कार्यक्रमको अध्यक्षता मेचीनगर नगरपालिकाका नगर प्रमुख गोपालचन्द्र बुढाथोकी ले गर्नुभएको थियो। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठ, युवा, शिक्षा तथा खेलकुद शाखा प्रमुख होमनाथ भण्डारी, महिला तथा बालबालिका शाखा प्रमुख जयन्ती खरेल, लैङ्गिक हिंसा प्रतिकार्य विज्ञ कमला उप्रेती, कार्यपालिका सदस्य चित्र धिमाल लगायत जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन महिला तथा बालबालिका शाखा प्रमुख जयन्ती खरेल ले गर्नुभएको थियो।

नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूको आवश्यकता र अवस्थाका आधारमा उनीहरूको दैनिक जीवन, आवतजावत, स्वास्थ्य तथा आत्मनिर्भरता सहज बनाउने उद्देश्यले विभिन्न प्रकारका सहायक सामग्री वितरण गरेको जनाएको छ। वितरण गरिएका सामग्रीले लाभग्राहीहरूको जीवनस्तर सुधार गर्न महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।
वितरण गरिएका सहायक सामग्रीेमा ४५ वटा एल–स्टिक , ४ वटा चार खुट्टे (क्वाड्रिपोड) स्टिक, ९ वटा तीन खुट्टे (ट्राइपोड) स्टिक, १४ इन्चका ५ वटा, १६ इन्चका ४० वटा र १८ इन्चका ३० वटा म्यानुअल ह्विलचेयर, ६ वटा वाकर, १२ इन्चका २ वटा र १४ इन्चका ५ वटा सीपी ह्विलचेयर, ४२ वटा ट्वाइलेट चेयर , १० वटा एयर म्याट्रेस , २ वटा अपाङ्गमैत्री ट्राइसाइकल, १ वटा अस्पताल बेड, १६ इन्चका २ वटा, १८ इन्चका १८ वटा र २० इन्चका २ वटा मेडिकल ह्विलचेयर, बालबालिकाका लागि ३१ प्याकेट डिस्पोजेबल डायपर तथा वयस्कका लागि ३१ प्याकेट डिस्पोजेबल डायपर रहेका छन्।

अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सुनिश्चित गर्दै उनीहरूलाई आवश्यक सहायक सामग्री उपलब्ध गराउने, सामाजिक समावेशीकरणलाई सुदृढ बनाउने तथा सम्मानपूर्वक जीवनयापनमा टेवा पुर्याउने उद्देश्यले यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै आएको नगर प्रमुख गोपालचन्द्र बुढाथोकी ले बताउनु भयो । उहाँले आगामी दिनमा पनि आवश्यकता अनुसार यस्ता सहयोगमूलक कार्यक्रमलाई अझ प्रभावकारी रूपमा सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

