सलकपुरमा सशस्त्र प्रहरीको छड्के जाँच : पाँच लाख बराबरका अवैध लत्ताकपडा बरामद

प्रकाश बानियाँ
6 July, 2026 1:23 pm

मोरङ, असार २२। मोरङको सुन्दरहरैँचा नगरपालिका–८ स्थित सलकपुर चोकमा सशस्त्र प्रहरी बल नेपाल मद्दती सेवा गुल्मले छड्के जाँचका क्रममा करिब पाँच लाख रुपैयाँ बराबरका अवैध लत्ताकपडा बरामद गरेको छ।

आइतबार साँझ काकडभिट्टाबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००७ ख ००३४ नम्बरको ‘पाँचपोखरी’ बसमा सशस्त्र प्रहरी बल नेपाल, मद्दती सेवा गुल्म सलकपुरका प्रहरी निरीक्षक ई. नवीन बानियाँको नेतृत्वमा खटिएको सात सदस्यीय टोलीले छड्के जाँच गरेको थियो।

जाँचका क्रममा आवश्यक बिल–बिजक तथा भन्सारसम्बन्धी कागजात बिना भन्सार छली गरी ल्याइएको अन्दाजी पाँच लाख रुपैयाँ बराबरका साडी, कुर्ता सुरुवाल, लेगिङ्स तथा टप्स बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

बरामद गरिएका लत्ताकपडा आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि सम्बन्धित भन्सार कार्यालयमा बुझाइने सशस्त्र प्रहरी बलले जनाएको छ।