वर्षायामसँगै झापामा डुबेर मृत्युका घटना बढ्दो, केही सातामै पाँच जनाले गुमाए ज्यान

ई-झापा संवाददाता
22 June, 2026 5:32 pm

झापा, असार ८ । वर्षायाम सुरु भएसँगै झापामा पानीमा डुबेर ज्यान गुमाउने घटनामा चिन्ताजनक वृद्धि देखिएको छ। पछिल्ला केही सातायता जिल्लाका विभिन्न स्थानमा डुबेर पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुई दिनअघि कन्काई नगरपालिका–८ स्थित बिरिङ खोलामा डुबेर कन्काई–१ निवासी कुलबहादुर रसाइलीकी ५ वर्षीया छोरी सोनिया रसाइलीको मृत्यु भएको थियो। बालिकाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।


यसअघि असार ४ गते मेचीनगर नगरपालिका–७ इटाभट्टास्थित निर्माणाधीन एसियन हाइवेको छेउमा जमेको पानीमा डुबेर स्थानीय ६० वर्षीय गणेश बस्नेतको ज्यान गएको थियो। सोही दिनको अघिल्लो राति गौरीगञ्ज गाउँपालिका–२ बाहुनटोल निवासी ६० वर्षीय रबि सोरेन आफ्नै घरदेखि करिब ५० मिटर दक्षिणतर्फ रहेको सडक किनारको नालीमा जमेको पानीमा डुबेको अवस्थामा मृत फेला परेका थिए।


त्यसअघि जेठ ३ गते गौरादह नगरपालिका–२ सिटिया टोलस्थित बाटो छेउको पैनीमा डुबेर ६० वर्षीय बाबुराम हस्दाको मृत्यु भएको थियो भने वैशाख ३० गते भद्रपुर नगरपालिका–८ दुखाबस्तीमा घर नजिकै रहेको पैनीमा डुबेर ३५ वर्षीय बुद्धिम किस्कुले ज्यान गुमाएका थिए।


वर्षायाममा खोलानाला, पैनी, नाली तथा विभिन्न स्थानमा जमेको पानीका कारण डुबेर हुने दुर्घटनाको जोखिम बढ्ने गरेको छ। विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक तथा पानीको स्रोत नजिक बसोबास गर्ने समुदाय बढी जोखिममा पर्ने गरेका छन्।
सरोकारवाला निकायले अभिभावकलाई बालबालिकामाथि विशेष निगरानी राख्न, बाढी तथा पानी जम्ने क्षेत्र आसपास सावधानी अपनाउन तथा जोखिमयुक्त स्थानमा अनावश्यक आवतजावत नगर्न आग्रह गरेका छन्। प्रत्येक वर्ष वर्षायाममा यस्ता घटनाबाट झापामा दर्जनौं नागरिक प्रभावित हुने गरेका छन्, जसले समयमै सतर्कता र जनचेतनाको आवश्यकता औंल्याएको छ।