रास्वपा कोशी प्रदेशको उद्योग तथा वाणिज्य विभागमा टीका बराल मनोनित

–प्रकाश बानियाँ, झापा, जेठ १८ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोशी प्रदेश कार्य समितिले झापा बिर्तामोडका युवा व्यवसायी टीका बराललाई उद्योग तथा वाणिज्य विभागको सदस्य पदमा मनोनयन गरेको छ।
कोशी प्रदेश कार्य समितिद्वारा जारी पत्रअनुसार अर्जुनधारा–१०, झापाका बराललाई उक्त विभागको सदस्य पदमा मनोनयन गरिएको हो। प्रदेश कार्य समितिका महासचिव लाल विक्रम थापाद्वारा हस्ताक्षरित पत्रमा बराललाई पार्टीको विधान, नीति, सिद्धान्त तथा विभागको नियमावली र कार्यविधिअनुसार आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने विश्वास व्यक्त गरिएको छ।
युवा व्यवसायी समाज झापाका कोषाध्यक्ष समेत रहेका बराल राष्ट्रिय स्वतन्त्र पार्टीका सक्रिय सदस्य हुन्।
उद्योग तथा वाणिज्य क्षेत्रसँग सम्बन्धित नीति, कार्यक्रम तथा गतिविधिहरूलाई प्रभावकारी रूपमा अघि बढाउन विभागले भूमिका खेल्ने अपेक्षा गरिएको छ। बरालको मनोनयनसँगै विभागीय कार्यसम्पादन अझ प्रभावकारी बन्ने विश्वास पार्टीले लिएको जनाएको छ।
