धरपकड र दबाब बढेपछि लेखापढी व्यवसायी आन्दोलित, सेवा बन्द

ई-झापा संवाददाता
6 April, 2026 7:14 pm

भद्रपुर, झापा । नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन इकाई समिति भद्रपुर, झापाले हाल देखिएको प्रशासनिक हस्तक्षेप र धरपकडको विरोध गर्दै आफूअन्तर्गत सञ्चालन भइरहेका भू–सेवा केन्द्रहरू बन्द गरेको जनाएको छ।

एसोसिएसनले एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाल लेखापढी कानुन व्यवसायी परिषद् ऐन २०७५ (संशोधित २०८५) तथा लेखापढी सम्बन्धी नियमावली २०५१ बमोजिम आफूहरू कानुनी रूपमा पेशा तथा व्यवसाय सञ्चालन गर्दै आएको स्पष्ट पारेको छ। साथै, भू–सेवा ऐन २०७६ अनुसार सम्बन्धित निकायबाट अनुमति प्राप्त गरी सेवा दिइरहेको पनि उल्लेख गरिएको छ।

विज्ञप्तिमा सुशासनको नाममा राज्यका न्यायिक तथा अर्धन्यायिक निकायबाट भइरहेको अनावश्यक हस्तक्षेपप्रति गम्भीर आपत्ति जनाइएको छ। पेशागत मर्यादा विपरीत प्रशासनिक दबाब र धरपकडका घटना बढ्दै गएको उल्लेख गर्दै यस्ता गतिविधि तत्काल रोक्न माग गरिएको छ।

एसोसिएसनले पेशागत सुरक्षा र काम गर्ने वातावरण सुनिश्चित नभएसम्मका लागि आफ्ना सबै भू–सेवा केन्द्रहरू बन्द गर्ने निर्णय गरेको जनाएको छ। यस निर्णयबाट सेवाग्राहीमा पर्न गएको असुविधाप्रति क्षमायाचना समेत व्यक्त गरिएको छ।