झापामा निष्पक्ष निर्वाचन सुनिश्चित गर्छौं : एसपी खड्का

झापा । जिल्ला प्रहरी कार्यालय झापामा भर्खरै सरुवा भएर आएकी प्रहरी उपरीक्षक (एसपी) बसुन्धरा खड्काले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई निष्पक्ष, सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गराउनु नै आफ्नो प्रमुख जिम्मेवारी भएको स्पष्ट पारेकी छन्।
झापाकी पहिलो महिला प्रहरी कमान्डरका रूपमा माघ ९ गतेदेखि कमान्ड सम्हालेकी खड्काले शुक्रबार सञ्चारकर्मीहरूसँगको भेटघाटमा भनिन्, “मेरो पोस्टिङसँगै झापामा करिब डेढ महिना चुनावी माहौल रहनेछ। चुनौती छन्, तर अवसर पनि छन्। म आफ्नो क्षमताको पूर्ण प्रयोग गर्दै सुरक्षित र निष्पक्ष निर्वाचन सुनिश्चित गर्नेछु।”
यसपटक झापाको चुनावी वातावरण संवेदनशील मानिए पनि सुरक्षा व्यवस्थापनमा कुनै कमजोरी हुन नदिने उनको भनाइ छ। “हाल जिल्लामा करिब १ हजार १ सय प्रहरी कर्मचारी परिचालित छन्। आवश्यकता अनुसार थप सुरक्षा जनशक्ति पनि परिचालन हुन्छ,” उनले भनिन्, “एकीकृत सुरक्षा योजना बनिसकेको छ, त्यसैले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न हुनेमा ढुक्क छु।”
चुनावको मुखमै तत्कालीन एसपी राजन लिम्बुको सरुवालाई लिएर राजनीतिक टिप्पणी भइरहेका बेला खड्काले आफ्नो सरुवा नियमित प्रक्रिया अन्तर्गत भएको स्पष्ट पारिन्। “मेरो सरुवा संगठनको नियमअनुसार भएको नियमित सरुवा हो। यसलाई लिएर शंका गर्ने आधार छैन,” उनले भनिन्।
झापा संवेदनशील जिल्ला भएकाले संगठनले आफूलाई जिम्मेवारी दिँदा कार्यक्षमता, अनुभव र नेतृत्व क्षमताको मूल्यांकन गरेको उनको दाबी छ। “झापासहित यो मेरो तेस्रो कमान्ड जिल्ला हो। यसअघि पनि निर्वाचन सुरक्षाको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेको अनुभव छ,” उनले भनिन्।
प्रहरी पनि समाजकै अभिन्न अंग भएको उल्लेख गर्दै खड्काले सुरक्षित समाज निर्माणमा प्रहरी र नागरिकबीच सहकार्य अपरिहार्य रहेको बताइन्। “हामी बर्दी लगाएका नागरिक हौं, तपाईंहरू बिना बर्दीका नागरिक। दुवैको सहकार्यबाट मात्रै सुरक्षित समुदाय सम्भव छ,” उनको भनाइ छ।

