प्रतिनिधिसभा निर्वाचन लक्षित गर्दै इन्धन आपूर्ति सहज बनाउन आयल निगमको विशेष तयारी

काठमाडौं, ८ माघ । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन लक्षित गर्दै नेपाल आयल निगमले देशभरि इन्धन आपूर्ति सहज बनाउन विशेष योजना अघि सारेको छ ।
निर्वाचनका बेला इन्धन माग बढ्ने हुँदा उपभोक्ताले कुनै समस्या झेल्नु नपर्ने गरी तयारी सुरु गरिएको निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले जानकारी दिए ।
कार्यकारी निर्देशक भट्टले आगामी निर्वाचनका बेला इन्धन माग बढ्ने प्रक्षेपण गर्दै कुनै पनि अभाव हुन नदिने गरी विशेष तयारी पूरा भएको बताए ।
निगमका अनुसार हाल सामान्य अवस्थामा नेपालभरि दैनिक २२ देखि २५ लाख लिटर पेट्रोल र ४० देखि ४५ लाख लिटर डिजेल खपत हुने गरेको छ । निर्वाचनका बेला पेट्रोलको मागमा करिब ५ देखि ७ प्रतिशतसम्म वृद्धि हुने अनुमान छ ।
‘विगतका निर्वाचनहरू (२०७४ र २०७९ साल) को तथ्यांक हेर्दा चुनावी प्रचार–प्रसारको मुख्य अवधि (८-१० दिन) मा इन्धन माग बढ्ने देखिन्छ,’ कार्यकारी निर्देशक भट्टले अनलाइनखबरसँग भने, ‘यस पटक पेट्रोलको दैनिक माग बढेर २५ देखि २७ लाख लिटरसम्म पुग्न सक्ने देखिएको छ ।’
निर्वाचनका बेला राजनीतिक दलहरूको परिचालन र सवारीसाधनको बढ्दो प्रयोगले गर्दा पेट्रोल र डिजेल मागमा उल्लेख्य वृद्धि हुने गर्दछ ।
तर, सामान्यतया निर्वाचनमा सबै प्रकारका इन्धनको माग बढ्ने सोचिए पनि निगमको विश्लेषण भने फरक छ । त्यस समयमा विकास निर्माणका आयोजना र ठूला निर्माण कार्य प्राय: बन्द हुने वा सुस्त हुने भएकाले डिजेलको मागमा खासै वृद्धि नहुने देखिएको छ ।
‘चुनाव लागेपछि विकास निर्माणका कामहरू रोकिन्छन्, निर्माण क्षेत्रमा डिजेलको ठूलो खपत हुने गर्दछ,’ कार्यकारी निर्देशक भट्टले भने, ‘चुनावी अभियानका कारण सवारीसाधनमा डिजेलको माग बढे पनि निर्माण कार्य रोकिँदा हुने बचतले यसलाई सन्तुलनमा राख्छ, त्यसैले डिजेलको कुल खपतमा खासै ठूलो प्रभाव देखिँदैन ।’
आपूर्ति व्यवस्था सुदृढ बनाउन निगमले आफ्ना सातै प्रदेशका डिपोहरूमा इन्धन मौज्दात बढाएर ९० प्रतिशत पुर्याउने लक्ष्य लिएको छ । हाल डिपोहरूमा करिब ६० देखि ७० प्रतिशत हाराहारी मौज्दात रहने गरेको छ ।
‘निर्वाचनका बेला सीमानाकाहरू बन्द हुने र ढुवानीमा समस्या आउन सक्ने सम्भावना हेरेर हामीले सेफ भोल्युम बाहेक पूर्णक्षमता ९० प्रतिशतसम्म इन्धन मौज्दात राख्ने व्यवस्था मिलाएका छौं,’ भट्टले भने, ‘यसका लागि आवश्यक सबै तयारी डिपोहरूमा गरिसकिएको छ ।’
पहिले भारतबाट ट्यांकरमा इन्धन ल्याउन ३ देखि ४ दिन लाग्ने गरेकोमा अहिले अमलेखगञ्ज-मोतिहारी पेट्रोलियम पाइपलाइनका कारण आपूर्तिमा ठूलो सहजता आएकोे छ ।
पाइपलाइनका कारण नेपालसम्म इन्धन ल्याउन कुनै समस्या नरहेको र आवश्यक परेको खण्डमा पाइपलाइन अपरेसन सुरु गरेको १ घण्टाभित्र तेल आउन थाल्ने र ४-५ घण्टामा डिपोका ट्यांकीहरू भर्न सकिने अवस्था रहेको डा. भट्टको भनाइ छ ।
निगमले हालै सुरु गरेको ईआरपी प्रणाली र मोबाइल एपमार्फत भुक्तानी गर्ने व्यवस्थाले निर्वाचनको भिडभाडमा पनि आपूर्ति व्यवस्थापनलाई छिटो र पारदर्शी बनाउने बताइएको छ ।

