गेरबाबा एफ.सि. अर्जुनधारा ५–० को फराकिलो जित सहित बन्यो च्याम्पियन

प्रकाश बानियाँ , अर्जुनधारा । द राइजिङ युथ क्लब तथा वडा खेलकुद समिती शिबसताक्षीको आयोजनामा सम्पन्न 9-A Side फुटबल प्रतियोगिताको उपाधि गेरबाबा एफ.सि. अर्जुनधाराले जितेको छ।
फाइनल खेलमा गेरबाबा एफ.सि.ले मदरगचलाई ५–० गोल अन्तरले पराजित गर्दै शानदार जित दर्ता गर्यो। एकतर्फी बनेको खेलमा गेरबाबाको जितमा सुदर्शन लिम्बुले दुई गोल गर्दै निर्णायक भूमिका खेले। यस्तै साहिल धिमाल, सामुएल राई र दिवस बास्तोलाले समान एक–एक गोल गरे।

व्यक्तिगत विधातर्फ बुद्द चौधरी प्रतियोगिताको सर्वोकृष्ट खेलाडी घोषित भए भने सुदर्शन लिम्बुले सर्वाधिक गोलकर्ता बन्दै ‘गोल्डेन बुट’ हात पारे। त्यसैगरी उत्कृष्ट गोलकिपरको अवार्ड सौरभ लगुनले जित्दा उदयीमान खेलाडीको उपाधि बिबश बास्तोलाले प्राप्त गरे। प्रतियोगिताको उत्कृष्ट प्रशिक्षकको अवार्ड भने बाबा डि.आर. थारुले हात पारे।
प्रतियोगिताको समापन समारोहमा आयोजक संस्थाले खेलाडी तथा विजेता टोलीलाई ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गर्दै खेलकुदले युवालाई अनुशासन र सकारात्मक दिशातर्फ प्रेरित गर्ने विश्वास व्यक्त गरेको थियो।
