निरन्तर सहकारीको १२औँ साधारणसभा सम्पन्न, नाफा र सदस्य संख्या बढाउने लक्ष्य

अर्जुनधारा, १४ पौष । झापाको बिर्तामोड नगरपालिका–५ मा कार्यालय रहेको निरन्तर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ।अर्जुनधारा नगरपालिकास्थित सालबारी झिल पर्यटकीय क्षेत्रमा बनभोजसहित आयोजना गरिएको साधारणसभामा संस्थाका अध्यक्ष भीष्मप्रसाद दाहालले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।
अध्यक्ष दाहालद्वारा प्रस्तुत प्रतिवेदनअनुसार २०७० भदौ १४ गते स्थापना भएको संस्थाले आर्थिक वर्ष २०८१/८२ सम्ममा १ हजार ३५५ जना शेयर सदस्य पुर्याइसकेको छ। चालु आर्थिक वर्ष २०८२/८३ मा शेयर सदस्य संख्या १ हजार ५०० पुर्याउने लक्ष्य लिइएको उहाँले जानकारी दिनुभयो।

गत आर्थिक वर्षमा ७७ लाख ५०० रुपैयाँ रहेको शेयर पुँजी चालु आर्थिक वर्षमा बढाएर ९५ लाख रुपैयाँ पुर्याउने लक्ष्य संस्थाले लिएको छ। यस्तै, २० लाख ३७ हजार २ सय ८३ रुपैयाँ रहेको बचत कोषलाई बढाएर २२ लाख रुपैयाँ पुर्याउने लक्ष्य राखिएको छ।
प्रतिवेदनअनुसार गत आर्थिक वर्षमा २ करोड ४२ लाख २६ हजार २ सय ८३ रुपैयाँ रहेको निक्षेप चालु आर्थिक वर्षमा २ करोड ५५ लाख रुपैयाँ पुर्याउने तथा ३ करोड १० लाख ५० हजार ५ सय रुपैयाँ रहेको कर्जा लगानीलाई ३ करोड ७५ लाख रुपैयाँ पुर्याउने लक्ष्य तय गरिएको छ।

गत आर्थिक वर्षमा ११ लाख ५२ हजार २२ रुपैयाँ नाफा आर्जन गरेको संस्थाले चालु आर्थिक वर्षमा २० लाख रुपैयाँ नाफा कमाउने लक्ष्य लिएको अध्यक्ष दाहालले बताउनुभयो। साथै, उहाँले संस्था तथा शेयर सदस्यहरूको हितमा केन्द्रित नीति तथा कार्यक्रमहरू पनि प्रस्तुत गर्नुभएको थियो।
साधारणसभामा लेखा सुपरिवेक्षण समितिको तर्फबाट संयोजक सुवास मैनालीले लेखा सुपरिवेक्षण प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।

साधारणसभाको अवसरमा उत्कृष्ट शेयर सदस्यका रूपमा मोहनप्रसाद रिमाल, उत्कृष्ट बचतकर्ताका रूपमा पद्मा खनाल, उत्कृष्ट ऋणीका रूपमा रोशन नेपाली तथा उत्कृष्ट कर्मचारीका रूपमा दिलकुमारी ढकाललाई सम्मान गरिएको थियो।
संस्थाकी सञ्चालक समिति सदस्य रीता मिश्रले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन संस्थाका सचिव हरि आचार्यले गर्नुभएको थियो।

कार्यक्रममा सम्मानितहरूको तर्फबाट मोहनप्रसाद रिमाल, संस्थाका निवर्तमान उपाध्यक्ष कुमार सिटौला तथा लेखा समितिका निवर्तमान अध्यक्ष ध्रुव गौतमले शुभकामना मन्तव्य राख्नुभएको थियो।