मेचीनगरमा क्षयरोग नियन्त्रण अभियान प्रभावकारी, ९४ प्रतिशत बिरामी निको

मेचीनगर, १४ पुस । मेचीनगर नगरपालिकामा चालु आर्थिक वर्षको साउनदेखि मंसिरसम्मको पाँच महिनाको अवधिमा ४६ जना नयाँ क्षयरोगी फेला परेका छन्।
मेचीनगरलाई क्षयरोग मुक्त पालिका घोषणा गर्ने अभियानअन्तर्गत सोमबार नगरपालिकाको सभाहलमा स्वास्थ्य शाखाद्वारा आयोजित वार्षिक समीक्षा गोष्ठीमा सो जानकारी सार्वजनिक गरिएको हो।
स्वास्थ्य शाखाका अनुसार आर्थिक वर्ष २०८१/८२ मा नगरपालिकाभर २१० जना क्षयरोगी पत्ता लागेका थिए। तीमध्ये ९४ प्रतिशत बिरामी निको भएका छन् भने बाँकी ६ प्रतिशत अर्थात ६ जनाको क्षयरोगसँगै अन्य घातक रोगका कारण मृत्यु भएको शाखाले जनाएको छ।स्वास्थ्य शाखा प्रमुख सविता सापकोटाका अनुसार मृत्यु भएका ६ जनामध्ये वडा नं. ८ का १ जना, वडा नं. १५ का २ जना, वडा नं. ११ का १ जना र वडा नं. १२ का २ जना रहेका छन्। उनीहरूमा क्यान्सर लगायतका अन्य गम्भीर रोग पनि देखिएको थियो।
समीक्षा गोष्ठीमा जोखिमयुक्त क्षेत्रको पहिचान, खोजी कार्यलाई प्रभावकारी बनाउने तथा अति विपन्न क्षयरोगीलाई पोसिलो खानेकुरा वितरणलाई निरन्तरता दिने विषयमा छलफल गरिएको थियो। सापकोटाका अनुसार प्रत्येक क्षयरोगीलाई वार्षिक रूपमा पोसिलो खानेकुराको प्याकेज वितरण गरिँदै आएको छ। उक्त प्याकेजमा एक बोरा चामल, एक क्यारेट अण्डा, एक लिटर खानेतेल, एक केजी बदाम, एक केजी मिक्स सातु र एक केजी मुसुरी दाल समावेश छन्।
अघिल्लो वर्ष २२१ जना क्षयरोगीलाई पोसिलो खानेकुराको प्याकेज वितरण गरिएको थियो। लगत संकलन गरिएका क्षयरोगीलाई नियमित निगरानीमा राखी उपचार तथा फलोअप गरिँदै आएको शाखाको भनाइ छ।
यसैगरी आर्थिक वर्ष २०८०/०८१ मा २०५ जना र २०७९/०८० मा २०० जना क्षयरोगी फेला परेका थिए। एआई प्रविधिबाट गरिएको छातीको एक्सरे परीक्षणबाट ती बिरामी पहिचान गरिएको हो। हाल मेचीनगर–२, ४, ७, १०, १२ र १५ नम्बर वडामा छाती एक्सरे परीक्षण सम्पन्न भइसकेको छ।
गत वैशाखमा मेचीनगरमा पहिलो पटक क्षयरोग पहिचानका लागि एआई प्रविधियुक्त छाती एक्सरे परीक्षण शिविर सञ्चालन गरिएको थियो।
‘आगामी २०८३ सालमा मेचीनगरलाई क्षयरोग मुक्त पालिका घोषणा गर्ने लक्ष्य छ,’ स्वास्थ्य शाखा प्रमुख सापकोटाले भनिन्, ‘चार वर्षदेखि अभियान सञ्चालनमा छ, अब एक वर्षभित्र लक्ष्य हासिल गर्ने गरी काम गरिरहेका छौँ।’
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न समीक्षा गोष्ठीमा नगरका क्षयरोग फोकल पर्सन तथा इन्चार्जहरूको सहभागिता रहेको थियो। गोष्ठीको सहजीकरण स्वास्थ्य शाखा प्रमुख सापकोटाले गरेकी थिइन्।