एमाले झापा द्वारा पौष १० गते दमक र बिर्तामोडमा ‘खबरदारी कार्यक्रम’ घोषणा

ई-झापा संवाददाता
23 December, 2025 8:54 pm

प्रकाश बानियाँ , झापा । नेकपा (एमाले) झापा जिल्ला कमिटीले भदौ २३ र २४ गते ‘जेन्जी’को नाममा भएको प्रदर्शनका क्रममा भएको हिंसा आकस्मिक नभई विदेशी शक्तिको योजनाबद्ध षड्यन्त्रको परिणाम भएको आरोप लगाएको छ। सो घटनामा विद्यार्थी, सुरक्षाकर्मी र सर्वसाधारण नागरिकको ज्यान जानुका साथै सयौँ घाइते भएकोप्रति पार्टीले गहिरो दुःख व्यक्त गर्दै दिवंगतप्रति श्रद्धाञ्जली र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
बिहीबार जारी प्रेस विज्ञप्तिमा एमाले झापाले शान्तिपूर्ण प्रदर्शनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकले राजीनामा दिइसकेको अवस्थामा भदौ २४ गते देशव्यापी तोडफोड, आगजनी र हत्या भएको उल्लेख गरेको छ। विज्ञप्तिअनुसार सिंहदरबार, राष्ट्रपति भवन, प्रधानमन्त्री निवास, सर्वोच्च अदालत, संसद भवन, अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित सरकारी कार्यालय, सवारी साधन, निजी घर, पार्टी कार्यालय, बैंक, सहकारी र व्यवसायिक प्रतिष्ठानमा आगजनी र विध्वंस गरिएको थियो।

एमाले झापाले वर्तमान सरकार शान्ति–सुरक्षाप्रति गम्भीर नभएको आरोप लगाउँदै जेलबाट भगाइएका अपराधी अझै नियन्त्रणमा नआएको, लुटिएका हतियार फिर्ता नभएको र सुरक्षाकर्मीको मनोबल उच्च बनाउन कुनै ठोस पहल नभएको जनाएको छ। पार्टी अध्यक्षसहित पूर्व प्रहरी प्रमुखहरूमाथि गरिएको ‘स्थान हद’प्रति घोर आपत्ति जनाउँदै यसले सुरक्षातन्त्रलाई कमजोर पार्ने षड्यन्त्र भएको दाबी गरेको छ।
विज्ञप्तिमा वर्तमान सुशिला कार्की सरकार फाल्गुण २१ गते चुनाव गराउने म्यान्डेटमा गठन भए पनि ठूला दललाई बदनाम गरेर चुनावी वातावरण नै बिगार्ने खेल भइरहेको आरोप लगाइएको छ। “ठूला दललाई अवरोध सृजना गरेर कस्तो किसिमको चुनाव गर्न खोजिएको हो?” भन्दै एमालेले प्रश्न उठाएको छ।

पार्टीले भदौ २३–२४ का घटनामा तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकलाई जबरजस्ती अपराधी करार गर्ने प्रयास भइरहेको भन्दै निष्पक्ष छानबिनको माग गरेको छ। गोली कसले चलायो, गोप्य तथा महत्वपूर्ण कागजात कसले जलायो, सुरक्षाकर्मीको भूमिका किन एकरूप देखिएन जस्ता गम्भीर प्रश्नको जवाफ खोजिनुपर्ने एमालेको माग छ। साथै छानबिन आयोगका जिम्मेवार व्यक्तिले अनुसन्धानअघि नै सामाजिक सञ्जालमार्फत उत्तेजक अभिव्यक्ति दिएको भन्दै निष्पक्षतामाथि प्रश्न उठाएको छ।


एमाले झापाले देश, संविधान र लोकतन्त्रको रक्षा तथा धार्मिक जातीय सद्भाव कायम गर्न जस्तोसुकै मूल्य चुकाउन तयार रहेको स्पष्ट गर्दै संवैधानिक संकट समाधानका लागि आवश्यक परे संसद पुनर्स्थापना, संविधान संशोधन र सर्वपक्षीय सरकार गठनको विकल्पसमेत अघि सारेको छ।


वर्तमान अवस्था प्रतिगामी र विदेशी दलालहरूको षड्यन्त्रबाट निर्देशित भएको ठहर गर्दै एमालेले सबै लोकतान्त्रिक शक्ति र दललाई खबरदारी र भण्डाफोर अभियानमा सहभागी हुन आह्वान गरेको छ। पार्टीले चरणबद्ध आन्दोलन घोषणा गर्दै यही पौष १० गते दमक र बिर्तामोडमा ‘खबरदारी कार्यक्रम’ आयोजना गरिएको आज भएको पत्रकार सम्मेलनमा जिल्ला अध्यक्ष प्रेम गिरीले जानकारी दिनुभयो।

उहाँले भन्नुभयो “हामी कसैमाथि आक्रमण गर्दैनौँ, तर वर्तमान प्रतिगामी सत्ता र विदेशी दलालबाट हुनसक्ने हुलहुज्जतको सामना गर्न गाउँ–गाउँ र बस्ती–बस्तीमा आत्मरक्षा गर्न तयार रहन सम्पूर्ण कार्यकर्ता र समर्थकलाई अपिल गर्दछौँ।”

पार्टीका केन्द्रीय, प्रदेश, जिल्ला तथा पालिका कमिटीका दर्जनौँ नेताहरूको उपस्थिति रहेको कार्यक्रमको सहजीकरण जिल्ला सचिव तुलसी कार्कीले गर्नुभएको थियो।